Logo
Logo

दल दर्ताका लागि रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा



काठमाडौं । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गराउँदैछन् । चौधरीका समर्थक दल दर्ताका लागि सोमबार निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहितको रयाली निकाल्दै उनीहरु निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि पुगेका छन् ।

उनीहरु चौधरीका तस्बिर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन आयोगको कार्यालयमा पुगेका हुन् । आयोगको कार्यालयमा चौधरीकी श्रीमतीसमेत सहभागी छिन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा चौधरी तटस्थ बसेका थिए ।

यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । हाल उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै चौधरीले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्