Logo
Logo

वर्षमान फर्केपछि मात्र माओवादीले पदाधिकारी टुंगो लगाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।

ललितपुरको सानेपामा आज (सोमबार) बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएपनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागीतामा पदाधिकारी टुंगो लगाउनु उचित हुने भएकाले आजको बैठकबाट पदाधिकारी टुंगो नलागेको बताए । पुन, घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लाग्ने उनले बताए ।

माओवादीका नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक पुस २५ गते बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारी आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

माओवादी विधान अनुसार १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर महाधिवेशनमा प्रचण्डले २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

माओवादीको विधान अनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्