प्रदेश २ मा चार दलबाट ६ जनाको उम्मेदवारी « Drishti News – Nepalese News Portal
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

प्रदेश २ मा चार दलबाट ६ जनाको उम्मेदवारी


दृष्टि संवाददाता


जनकपुरधाम । राष्ट्रियसभा सदस्यको हुने निर्वाचनका लागि प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई सिटका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोग प्रदेश २ कार्यालयले जनाएको छ ।

चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नेकपा एमालेबाट २/२ जनाले मनोनयन दर्ता गराएका छन् । मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छिन् । पर्साको वीरगञ्ज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराएका छन् ।

लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र सप्तरीका श्यामसुन्दर सरदारले अन्य समूहमा उम्मेदवारी दर्ता गराएका छन् । यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन् । सरदारको प्रस्तावक प्रदेशसभा सदस्य अभिराम शर्मा र समर्थक गौरीनारायण साह रहेका छन् ।

त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी साह र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् । त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् ।

प्रदेश–२ मा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेससंग एकीकरण गरेकाले कांग्रेसको अब २ हजार ३७० मतभार रहेको छ ।

प्रदेश २ मा सत्तारुढ पाँच दलीय गठबन्धनको मतभार ७ हजार ३०२ रहेको छ । यस आधारमा प्रदेश २ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

प्रदेश २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुदैछ । १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्