Logo
Logo

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता



विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा पाँचदलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गठबन्धनबाट तीन, एमालेबाट तीन र राप्रपाका दुई उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट कांग्रेसका झापानिवासी गोपालबहादुर बस्नेतले अन्य समूहबाट, एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राईले महिला समूह र जसपाबाट भोजपुरकै हेमराज राईले आदिवासी जनजाती समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी एमालेबाट मोरङका गुरु बरालले अन्य समूह, झापाकी सुमित्रा भण्डारीले महिला समूह र सोलुखुम्बुका ग्यालजेन शेर्पाले आदिवासी–जनजाति समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपाबाट झापाका अमर विष्टले अन्य समूह र झापाकै रञ्जु प्याकुरेलले महिला समूहमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ मा एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखमध्ये एमालेका दुईजनाको मृत्यु भएकाले जम्मा दुई सय ७२ मतदाता छन् । प्रदेश सभाका जम्मा ९२ प्रदेश सांसद पनि मतदाता हुन्छन् । सांसदको मतभार ४८ र प्रमुख र उपप्रमुखको १८ हुने भएकोले प्रदेश १ मा गठबन्धनको चार हजार ६ सय ६८, एमालेको चार सय ५२ र राप्रपाको एक सय २० मतभार छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुदैछ । १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्