Logo
Logo

विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजी गर्न उजुरीमा माग गरिएको छ । चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए ।

उनले चौधरीको केन्द्रीय सदस्य पद ‘असंवैधानिक’ भएकाले खारेज गर्न माग गर्दै बुधबार उजुरी दिएका हुन् । विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएकाले चौधरीको अवधि नपुग्ने दाबी यादवले गरेका छन् ।

‘मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ,’ यादवले आफ्नो उजुरीमा भनेका छन् ।

चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएपछि आयोग आउनुपरेको निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्