ओलीका कारण एमालेमा ठूलो बिद्रोह हुँदैछ « Drishti News – Nepalese News Portal
Logo

ओलीका कारण एमालेमा ठूलो बिद्रोह हुँदैछ


सुवास कर्माचार्य


व्यक्तिवादी अहंकार र दम्भ हावी भएपछि नेकपा (एमाले)का इमान्दार नेता तथा कार्यकर्ता निराश बनेका छन् । मूल्य, मान्यता, लक्ष्य, उद्देश्य भुलेर अध्यक्ष केपी शर्मा ओलीले खल्तीबाट नेता छान्दा एमालेमा ठूलो पंक्ति असन्तुष्ट छ । यद्यपि, ओलीको गलत क्रियाकलापबारे धेरैले मुख खोल्न सकेका छैनन् । कतिपय केही दिइहाल्छन् कि भन्ने आशामा छन्, कतिपय ओली प्रवृत्ति बोक्दा पाएको भाग पनि खोसिने हो कि भन्ने त्रासमा छन् । केहीले ओली प्रवृत्तिविरुद्ध बिद्रोह नै गरेका छन् । बिद्रोह गर्ने मध्येका एक हुन ४० वर्ष भूगोलमा बसेर एमालेका निम्ति पसिना बगाएका पूर्वसांसद सुवास कर्माचार्य । ओली प्रवृत्तिविरुद्ध लड्नकै निम्ति एमालेसँगको राजनीतिक यात्रा त्यागेको कर्माचार्य बताउँछन् । एमाले छाड्नुको कारण र अबको बाटोबारे कर्माचार्यसँग दृष्टिले गरेको संवाद:

४० वर्ष बिताएको पार्टी नेकपा (एमाले) किन छोड्नुभयो ?
लामो समयसम्म एमालेमा बसेर काम गरेँ । पार्टी र संगठन निर्माणमा योगदान गरेँ । कम्युनिष्टप्रति आम कार्यकर्ता, आम नेपालीको अपेक्षा थियो । नेकपा (एमाले) साच्चै कम्युनिष्ट पार्टी होला, श्रमजीवि जनताको प्रतिनिधिको रुपमा समाजमा रहेका सबै खालका विभेदहरू अन्त्य गरेर समृद्ध समाज निर्माणको नेतृत्व गर्ला र पार्टी सबै हिसाबले कम्युनिष्ट आचरण, शैलीसहितको बन्ला भन्ने अपेक्षा थियो । तर, पछिल्लो पटक नेतृत्वमा विचलन आयो । सुध्रने सम्भावना देखिएन । यस्तो गलत प्रवृत्तिको खबरदारी गर्न आवश्यक ठानेर एमालेबाट बिद्रोह गरेको हुँ ।

त्याग, तपस्या गरेका नेता तथा कार्यकर्ता एमालेबाट पाखा लाग्ने अवस्था कसरी बन्यो ?
पछिल्लो केही समयदेखि अर्थात केही वर्षदेखि पार्टीले आधारभूत रुपमा मूल्य, मान्यता, लक्ष्य, उद्देश्य छाड्दै जाने र पार्टीको आदर्शबाट स्खलित हुँदै जाने अवस्था भयो । आन्तरिक जीवनभित्र पनि एमाले कम्युनिष्ट पार्टी नभएर एमाले एउटा व्यक्तिको कम्पनीजस्तो भयो । हिजो आन्तरिक जनवाद हुन्थ्यो, विविध विषयमा मतहरू आउँथे । ती मतहरूलाई सम्मान गर्ने परिपाटी थियो । निर्णय गर्ने एउटा प्रक्रिया थियो । तर, आज एमालेभित्र विधि, प्रक्रिया, पद्धति नष्ट भएर गयो । पार्टीको माथिल्लो तहमा होस वा सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्दा नै किन नहोस नेतृत्व चुक्दै गयो र असफल हुँदै गयो ।

तर, एमालेले त जनताको बहुदलीय जनवाद मान्छौँ भनिरहेको छ ? व्यवहारमा कहाँ तालमेल मिलेन ?
जननेता मदन भण्डारीको नेतृत्वमा हामीले जुन खालको नीति अवलम्बन गर्यौं त्यो दुनियाँलाई मार्गनिर्देशन गर्ने खालको थियो । माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागू गर्ने सन्दर्भमा जबज उपयुक्त थियो । व्यवहारमा पनि त्यो सिद्ध भयो । संसारमा धक्का खाइरहेको कम्युनिष्ट आन्दोलनलाई जबजको माध्यमबाट हामीले गति दिने काम गर्यौं । नीति ठीक भयो, कार्यदिशा सही अवलम्बन गरेकै कारण एमाले लोकप्रिय बन्यो । हामीले नवौँ महाधिवेशनसम्म आइपुग्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा, समृद्धि र समाजवादको लक्ष्य किटान गरेका हौँ । त्यही नारा र कार्यदिशालाई जनताले विश्वास गरेर कम्युनिष्ट इतिहासमै ठूलो सफलता प्राप्त गर्यौं । विपरित ध्रुवमा रहेका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । तर, दुःखका साथ भन्नुपर्छ– नवौं महाधिवेशनपछि केपी शर्मा ओलीको नेतृत्वमा एमालेले नीति अनुसारको काम गर्न सकेन । आज हामी के भन्न सक्छौँ भने, नीतिलाई कार्यान्वयन गर्ने सवालमा, व्यवहारमा उतार्ने क्रममा हामी चुक्यौँ, हाम्रो नेतृत्व चुक्यो । जसका कारण दुईतिहाइ मतसहित प्रधानमन्त्री भएका ओली सत्ताबाट सडकमा पुगे ।

एमाले कसरी बिग्रियो ?
दुनियाँमा निकै उचाइमा पुगेको राजनीतिक आन्दोलन पनि समाप्त भएको इतिहास छ । ८० को दशकपछि सोभियत संघले सिंगो दुनियाँको समाजवादी आन्दोलनको नेतृत्व गरिहेको थियो । संसारका धेरै मुलुकहरूमा समाजवादी आन्दोलन फस्टाएको थियो । तर, हेर्दाहेर्दै प्रतिक्रियावादी शक्तिहरूले एउटा बन्दुकसमेत नपड्काइ सोभियत संघ ध्वस्त भयो । हाम्रो छिमेक पश्चिम बंगालमा पनि दशकौँदेखि जनताको अभिमत प्राप्त गरेर ठूलो सफलता प्राप्त गरेको कम्युनिष्ट आन्दोलन समाप्त भयो । जब कुनै कम्युनिष्ट पार्टीले ठीक नीति अवलम्बन गर्दैन, ठीक नेतृत्वको हातमा त्यो आन्दोलन पर्दैन, गलत नीति र गलत नेतृत्वकै कारण दुनियाँमा कम्युनिष्ट आन्दोलन धराशायी भएको छ । त्यो उचाइमा पुगेको एमाले गलत नेतृत्वकै कारण धरासायी बन्दैछ । संघीय सरकार आज एमालेको हातमा छैन । संघीय संसद्मा दुईतिहाइ हाराहारीमा पुगेको शक्ति आज छिन्नभिन्न छ । सबै प्रदेश सरकारबाट पनि एमालेले हात धुनुपरेको छ । अब, यही हिसाबले जाने हो भने भोलि अवस्था के होला, सहजै अनुमान गर्न सकिन्छ ।

यस घटनालाई विश्लेषण गर्दा के हामी अग्रगतितिर गइरहेका छौँ ? कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउनेतर्फ गइरहेका छौँ ? कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने कुरामा हामी सफल भयौँ त ? मूलरुपमा गलत नीति, गलत नेतृत्वको कारण कम्युनिष्ट आन्दोलन धरासायी हुने, स्खलित हुने अवस्थामा पुगेको छ भन्न अब कुनै दुविधा छैन ।

भनेपछि एमाले अव समाप्तिको बाटोमै गएको हो ?
समाप्तिको बाटोमा त म भन्दिनँ अहिले । तर, एमालेभित्रको मूल नेतृत्वको जुन प्रवृत्ति छ, त्यो भाँचिन्छ । यसले गम्भीर धक्का खान्छ । राष्ट्रिय राजनीतिमा हिजो खेलेको भूमिकामा अब एमाले रहँदैन । किनभने, नेतृत्व नै गलत बाटोमा हिँडेपछि कहाँ पुग्छ ?

ओली प्रवृत्तिविरुद्ध त पार्टीभित्रै रहेर संघर्ष गर्न सकिन्थ्यो होला नि ?
यो प्रश्न धेरैले गर्नुभएको छ । मैले एमालेसँगको राजनीतिक आवद्धताबाट सम्बन्ध विच्छेद गरेको घोषणा गरिसकेपछि धेरै साथी, शुभचिन्त र नेताले यो कुरा भनिरहनुभएको छ । धेरै साथीसँग छलफल गरेर नै म यो निष्कर्षमा पुगेको हुँ । मैले कुनै भावावेशमा वा आक्रोशमा यो निर्णय गरेको होइन । आन्तरिक संघर्ष ठीक हो । तर, आन्तरिक संघर्ष एमालेको जीवनमा बाँकी छ र ? पार्टीभित्र छलफल हुन्छ र ? मतहरू प्रकट हुन्छन् र ? फरक मत, दृष्टिकोणलाई सम्मान गरिन्छ र ? गम्भीरतापूर्वक जनवादी प्रक्रियाबाट समाधान खोजिन्छ र ? त्यसपछि निकालिएका निष्कर्षहरूलाई अवलम्बन गरेर अगाडि बढ्छौँ ? एमाले आज त्यो अवस्था छ ।

म सानो उदाहरण भन्छु– हामीले विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था गर्यौं । ३०१ जनाको १० प्रतिशत भनेको कति हो ? ३१ जना नै मानिदिऔँ । तर, केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा त ४४ जना भर्ती गरिदिनुभयो । धेरै पुराना नेताहरूले कुरा उठाउनुभयो– अध्यक्ष कमरेड यो त विधानअनुसार भएन । न्यायसँगत पनि भएन । आदर्श, मूल्यमान्यताअनुसार पनि भएन । के केपी ओलीले सुन्नुभयो त हाम्रो कुरा ? आफ्नोभन्दा फरक विचार ओली सुन्न चाहनुहुन्न । अब तपाईं भन्नुस– चुनाव मुखमा आइरहेको छ । अब, मेहनत गरेका, जनताको बीचमा स्थापित नेताले टिकट पाउने अवस्था एमालेमा छ ? पक्कै पनि छैन । त्यसकारण आन्तरिक संघर्षको जुन कुरा गर्नुभयो, त्यसको औचित्य समाप्त भएको छ । कम्युनिष्ट आन्दोलनभित्रका गलत प्रवृत्तिको खबरदारी गर्न एमालेभित्र रहेर सम्भव छैन । जसले आन्दोलनलाई समाप्तिको दिशामा लगिरहेको छ, उसैले मेहनत गर्ने, पुराना, पाका, इमान्दार मान्छेलाई निरुत्साहित गर्ने प्रवृत्ति छ ।

कुनै कुराको सुनुवाइ एमालेमा हुँदैन, आफ्ना सारा पीडा लुकाएर बस्नु भनेको आत्मसमर्पण गर्नु नै हो । फेरि पनि ओलीले ठान्छन्– सबै ठीक छ, आच्छा छ । कसैले बोलेका छैनन्, बोल्न सक्दैनन् । कम्युनिष्ट आन्दोलन नै समाप्तिको दिशामा जाने अवस्था आइसकेकाले अब बिद्रोहको विकल्प छैन । बिद्रोह गर्नुपर्छ, गलत कुराको विरुद्धमा खबरदारी गर्नुपर्छ, देशव्यापी आह्वान गर्नुपर्छ भनेर नै मैले बिद्रोह गरेको हुँ ।

तपाईंको यो बिद्रोहले ओली सुध्रिएलान् ? ओली प्रवृत्तिको अन्त्य होला त ?
पहिलो त, कसैले खबरदारी गरे पनि नगरे पनि केपीको यो प्रवृत्तिको कारणले अहिलेसम्म नेकपा हुँदै एमालेको यो अवस्थामा आइपुग्दा संगठनात्मक र बैचारिक हिसावको स्खलनले के संकेत गर्छ ? बढोत्तरी भएर कम्युनिष्ट आन्दोलन सशक्त हुने, जनताको बीचमा बहुत लोकप्रिय हुने दिशातर्फ गइरहेको छ त ? पक्कै छैन । त्यसैले, ओली प्रवृत्ति कहीँ न कहीँ गएर भाँच्चिनुपर्छ । यसले धक्का खानुपर्छ । त्यो अनिवार्य छ । हेरिराख्नुहोला, स्थानीय तहको चुनावसम्म पुग्दा नै ओली प्रवृत्ति भाँचिन्छ । ओलीले त भनिराख्नुभएको छ, झ्यालबाट होइन, ढोकाबाट पस्छु । दुनियाँलाई त उहाँले ढाँट्न सक्नुहुन्छ । तर, आफूले आफूलाई ढाट्न सकिँदैन । जनताको बीचमा काम गरिरहेका इमान्दार नेता तथा कार्यकर्ताले आफूलाई ढाँट्न सक्दैनन् । के ओलीले भनेकै जस्तो अवस्था छ त ? पक्कै छैन । यो भाँचिनुपर्छ, भाँचिन्छ नै । हामीले बिद्रोह नगर्दा पनि भाँचिन्छ ।
जहाँसम्म तपाईंले भन्नुभयो, यो बिद्रोहले हुन्छ ? मलाई के विश्वास छ भने यो एउटा व्यक्तिको बिद्रोह होइन । एउटा प्रवृत्तिको विरुद्धमा निसास्सिएर बसेका, आवाज उठाउन नसकेका नेता, कार्यकर्ताहरूको बिद्रोहको सुरुवात हो ।

एमालेका अरु नेता तथा कार्यकर्ताले पनि बिद्रोह गर्लात् ?
हेर्दै जानुस्, समय बलवान छ । धेरैले एमाले त्याग गर्नुहुन्छ, त्यो पनि निकै ठूलो संख्यामा । जहाँ म उभिएको छु् यो मेरो निजी कुरा होइन । राजनीतिक रुपमा परिस्थितिको सुक्ष्म विश्लेषण गरेर अगाडि बढेको छु । म त ४० वर्षदेखि कम्युनिष्ट आन्दोलनमा छु । यो आन्दोलनमा योगदान गरेको छु । हामीलाई यो आन्दोलनप्रति माया छ । एमाले निर्माण गर्न ठूलो योगदान गर्नेहरूको पंक्तिमा हामी पनि छौँ । हामीलाई माया छ । त्यसकारण हामीले सबै कुरा सोचेर, विचार गरेर निष्कर्ष निकालेकाले निकै ठूलो संख्यामा बिद्रोह हुँदैछ । म त एउटा प्रतिनिधि पात्र मात्र हुँ ।

तपाईं पूर्वसांसद पनि हुनुहुन्छ । जनतासँग घुलमिलमै हुनुहुन्छ । एमाले नेताहरू बहुमत ल्याउने दाबी गर्छन, बहुमत पाउलान् ?
सिन्धुपाल्चोक जिल्लाका सबै अग्रजहरूसँग, अगुवा नेताहरूसँग बसेर हामीले विश्लेषण गर्यौ र निष्कर्ष निकाल्यौँ– यथास्थितिमा एमालेको भविश्य छैन् । यसलाई सुधार्नुपर्छ । यो परिवर्तन हुनैपर्छ । सिन्धुपाल्चोककै कुरा गर्ने हो भने पनि अतिवादी शक्तिहरू यति साह्रो हाबी भएका छन् कि ओलीको नाम जोडिएपछि सबै माफी हुने खालको स्थिति छ । जसलाई पार्टी, आन्दोलनलगायतका कुराको कुनै सरोकार नै छैन । पार्टी निर्माणमा योगदान गर्ने, इमान्दार, असल मानिसहरूलाई अपहेलना गर्ने अनि ओलीको गुणगान गाउँदै कब्जा गर्ने ढाँचाले केही मानिस लागेका छन् । बागमतीमा पनि हिजो लामो समयसम्म नेतृत्वमा बसेर मैले काम गरेँ । कसैले बिद्रोहको झण्डा उठाइदियोस भन्ने धेरै छन् । मेरो भविश्य के हुन्छ ? भोलि म नेताहरूको कोपभाजनमा पो पर्छु कि ? मेरो कुनै चीज खोसिन्छ कि ? भन्नेबाट हामी मुक्त हुनुपर्छ । तपाईंले चुनावको कुरा गर्नुभयो, हेर्नुहोला, म अहिले धेरै कुरा भन्दिनँ । यति बुझ्नुस्, उहाँहरूले सोचेको जस्तो चुनाव जित्ने पार्टी एमाले अब रहँदैन । जनताको मन जितेर उचाइमा पुगेको पार्टीको रुपमा एमाले रहने अवस्था नै छैन ।

तपाईं राजनीतिक व्यक्तित्व हो । यो अर्थमा कुनै न कुनै राजनीतिक दलमा आवद्ध हुनै पर्छ । अबको बाटो के हो ?
पहिलो, हामी ओली प्रवृत्तिले निम्त्याएको वेतिथिबाट विरक्तिएर राजनीतिबाट पलायन हुँदैनौँ । हामीलाई कम्युनिष्ट आन्दोलनप्रति माया छ । मोह छ । अपार विश्वास छ । यही आदर्श, सिद्धान्तबाट नै यो समाजलाई परिवर्तन गर्न सकिन्छ । हामीले चाहेको न्यायोचित समाज, समतामूलक समाज स्थापना गरेर नेपाली जनताको जीवनलाई परिवर्तन गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने कम्युनिष्ट पार्टी आजको आवश्यकता हो ।
दोस्रो, अहिले गलतविरुद्ध बिद्रोह गरिएन भने गलत कुरा झन बलशाली हुन्छ । त्यसकारण बिद्रोह गर्न आवश्यक छ ।
तेस्रो, मलाई के विश्वास छ भने अन्ततः गलत प्रवृत्ति अन्त्य हुन्छ । गलत प्रवृत्तिले धक्का खानुपर्छ । फेरि पनि सच्चा कम्युनिष्ट क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्छ । गलत प्रवृत्ति कमजोर भइसकेपछि सच्चा कम्युनिष्ट पार्टीहरू एक ठाउँमा आउन अनिवार्य छ । जसले इमान्दारपूर्वक समृद्धि र समाजवादको बाटो बोकेको छ, उनीहरू एक ठाउँमा आउनैपर्छ ।

अब तपाईं कुन पार्टीमा लाग्ने ?
तत्कालको कुरा गर्नुहुन्छ भने मैले एमालेसँगको राजनीतिक आवद्धता विच्छेद गरेको छु । म कम्युनिष्ट पार्टीमै रहन्छु । त्यसो हुँदा चाँडै साथीहरूसँग सरसल्लाह गरेर माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुन्छु । व्यवहारको हिसावले, विचारको हिसावले एकीकृत समाजवादी नै अनुकुल हुन्छ ।

चार दशक लामो समय पसिना बगाएको पार्टी छोड्नुपर्दा पछुतो लागेको छैन ?
राजनीति भावनाले मात्रै चल्दैन । राजनीतिमा त आँशुको पनि कुनै अर्थ हुँदैन भन्छन नि । राजनीति निर्मम पनि हुन्छ । त्यसकारण म के भन्न चाहन्छु भने यो निष्कर्ष के को लागि ? पलायन हुनको लागि हो ? राजनीतिबाट निराश हुनका लागि हो ? होइन । यो त राजनीतिलाई जोगाउनका लागि हो । कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि हो । यस्तो बिद्रोह आजको आवश्यकता हो । यसले कम्युनिष्ट पार्टीलाई, कम्युनिष्ट आन्दोलनलाई समृद्ध बनाउने छ । गलत कुरालाई बोकेर, गलत कुरा हाबी हुन दिएर सही कुरा स्थापित हुन सक्दैन । त्यसकारण सही कुरालाई स्थापित गराउन यो बिद्रोह हो । त्यसकारण कुनै दुःख लाग्ने, पीडा हुने भन्ने प्रश्न नै हुँदैन । हिजो कुनै चिह्नलाई स्थापित गर्न लागियो । अब आज अर्को चिन्हलाई स्थापित गर्नुपर्ने छ । हिजो भूमिगतकालमा कम्युनिष्ट पार्टीले चुनाव लडेको थिएन । जब, संसदीय अभ्यासमा लाग्यौँ, त्यतिबेला हामीलाई अप्ठेरो थियो । त्यतिबेला, चुनाव लड्नु, शान्तिपूर्ण प्रतिष्पर्धामा उत्रिएर जनताको हकअधिकार स्थापित गर्नु चुनौती थियो । सूर्य चिह्न पहिला जनताले जानेका थिएनन्, हामीले नै हो त्यसलाई स्थापित गरेको । चिह्न भनेको प्राविधिक विषय मात्रै हो । मूलकुरा एजेन्डा हो, हामीले उठान गरेको सोच हो, विचार हो ।

तपाईंले भन्नु भएको एजेण्डा नेकपा (एकीकृत समाजवादी)मा छ त ?
नेकपा (एकीकृत समाजवादी) अहिले सबैभन्दा ठूलो पार्टी हुन्छ भन्ने हिसाबले म त्यता लाग्न चाहेको होइन । गलत नीति र गलत नेतृत्व भयो भने ठूलठूला आन्दोलन पनि समाप्त हुन्छ । यदि, सही विचार उठाउनुुहुन्छ, सही ढंगले पार्टीलाई नेतृत्व प्रदान गर्नुहुन्छ, व्यवहारमा लागू गर्न मेहनत गर्नुहुन्छ भने त्यो बढ्दै जान्छ । म एउटा उदाहरण दिन चाहन्छु । यद्यपि, माओवादीको जनयुद्धसँग राजनीतिक रुपमा म सहमत छैन । तर, छोटो समयमा उसले उठाएको आन्दोलनले एउटा आकार ग्रहण गर्यो । नेपालको कम्युनिष्ट आन्दोलनमा त्यसले कुनै योगदान गरेन ? यदि, गरेन भनियो भने त्यो अन्याय हुन्छ । यद्यपि, त्यो बाटो गतल थियो । तर, पनि त्यसले आधारभूत रुपमा समाजलाई परिवर्तन गर्ने कुरामा, जनताको अधिकार स्थापित गर्ने कुरामा, प्रतिक्रियावादी राज्यसत्तालाई कमजोर मात्रै होइन, ढाल्ने कुरामा योगदान त गर्यो नि । सही नीति र नेतृत्व भयो भने सानै चीज पनि बलशाली भएर आउँछ । गलत नीति र नेतृत्व हुने हो भने जतिसुकै विशाल शक्ति पनि क्षणभरमै पतन भएर जान्छ । त्यसैगरी, एकपछि अर्को गरेर एमालेको तागत राष्ट्रिय राजनीतिमा, संसदीय राजनीतिमा स्खलित भइरहेको छ । एकीकृत समाजवादीमा भने लहर आइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्