Logo
Logo
टिप्पणी

सर्फेसमा समीक्षा, ओझेलमा वस्तुगत अवस्था



– Milan Limbu

नेकपा माओवादी केन्द्रले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गर्यो । सम्मेलनलाई महाधिवेशन रुपान्तरण गर्नु हठात् थियो । तर, महाधिवेशनले जुन रुप ग्रहण गर्यो, त्यसले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नुको औचित्य पुष्टि गर्यो ।

राष्ट्रिय सम्मेलनका लागि तीन दिन समय तोकिएको थियो । महाधिवेशन हुने भएपछि २ दिन थपेर ५ दिन बनाइयो । त्यो समयले पनि नपुगेर ८ दिनमा मात्र माओवादीको महाधिवेशन सम्पन्न भयो । एक दिन उद्घाटनमा समय खर्चेको माओवादीले दुई दिन केन्द्रीय समिति चयनका खच्र्यो । बाँकी पाँच दिन माओवादीले सैद्धान्तिक वैचारिक बहसमा सदुपयोग ग¥यो ।

माओवादीले पाँच दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक दस्तावेज ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’मा बहस गरेको छ । भर्खरै सम्पन्न नेकपा एमालेको १०औं र नेपाली कांग्रेसको १४औं महाधिवेशनको तुलनामा माओवादीको आठौं महाधिवेशनमा सैद्धान्तिक वैचारिक विषयले महत्व पाएको मानिन्छ ।

एमालेले नीति निर्माणका लागि ‘विधान महाधिवेशन’ गरेको थियो । तर, त्यहाँ सैद्धान्तिक वैचारिक विषयमा बसह भएन । मात्र, नेतृत्व चयनकै लागि समय खेर गएको थियो । कांग्रेसमा सैद्धान्तिक वैचारिक बहस हुने कुरै भएन । हालसालै सम्पन्न यी तीन महाधिवेशनलाई हेर्दा माओवादीको महाधिवेशन सैद्धान्तिक वैचारिक दृष्टिकोणमा केही अगाडि मानियो ।

सैद्धान्तिक वैचारिक विषयमा समय खर्चेर माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नुको चौचित्य त पुष्टि गर्यो । तर, माओवादीले पाँच दिन समय खर्चेर गरेको सैद्धान्तिक बैचारिक बहसमार्फत माओवादी साच्चिकै सैद्धान्तिक वैचारिकरुपमा इस्पात भयो त भन्ने प्रश्न छ । किनकि, प्रचण्डले दस्तावेजमा सबैभन्दा धेरै आत्मसमीक्षा र आत्मलोचना गरिएको दाबी गरेका थिए । तर, दाबी गरिएझै आत्मसमीक्षा र आत्मलोचनाको सन्दर्भमा प्रचण्डको दस्तावेज सतही भएको विश्लेषण गरियो ।

प्रचण्डले ७ बुँदामा वर्तमान राजनीतिक परिस्थितिदेखि भावी कार्यदिशासम्म समेटेका छन् । विषय प्रवेशको रुपमा बुँदा १ मा प्रचण्डले समग्र राजनीतिक अवस्थितिबारे लामो व्याख्या गरेका छन् । सुरुमै प्रचण्डले भनेका छन्– ‘आज देशको समग्र राजनीतिक परिस्थिति निक्कै तरल र चुनौतीपूर्ण छ ।’

प्रचण्डले लामो संघर्षको बलमा स्थापित व्यवस्था नै समाप्त पार्ने गरी भइरहेका प्रतिगमनकारी क्रियाकलापका कारण राजनीतिक परिस्थिति तरल र चुनौतीपूर्ण रहेको भन्न खोजेका छन् । र, वर्तमान व्यवस्थाको हिमायती भएकाले यसको रक्षा पनि माओवादीले गर्नुपर्ने प्रचण्डको निचोड हो ।

प्रचण्डले ‘व्यवस्थामाथि प्रहार हुनुको कारण माओवादी कमजोर हुनु नै हो’ भन्ने कोणबाट आत्मसमीक्षा गर्ने प्रयास गरेका छन् । केही वर्षयता माओवादीमा देखापरेको वैचारिक–राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन र गुटवादी अराजकलाई कारण मानेका छन् । उनले भनेका छन– ‘राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनौं ।’

‘माओवादी कमजोर हुँदा उपलब्धि खतरामा पर्यो’ भन्दै प्रचण्डले आत्मसमीक्षा त गरेका छन् । तर, ‘यस विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनीतिक कार्यदिशाको विकास गर्ने तथा तदनुकूल संगठनात्मक संरचना एवं कार्यशैलीको विकासका लागि सर्वाधिक जोड दिनुपर्ने छ’ भनेर बिट मारेका छन् ।

प्रचण्डले समस्याको जड खुट्याएका छन् । तर, समाधानको बाटो स्पष्टरुपमा देखाउन सकेनन् । विचार र राजनीतिक कार्यदिशाको विकास गर्ने तथा तदनुकूल संगठनात्मक संरचना एवं कार्यशैलीको विकासका लागि सर्वाधिक जोड दिने भन्दैमा माओवादीले सही दिशा समात्न सक्ने अवस्था छैन । मुख्यतः राजनीतिक कार्यदिशाको सन्दर्भमा प्रचण्डले उपलब्धि रक्षाको सवाललाई मात्र प्राथमिकतामा राखेका छन् ।

बुँदा २ मा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ शीर्षकको उपशीर्षक (ख) मा ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिक परिस्थिति’बारे प्रचण्डले लेखेका छन– ‘परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सबैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैचारिक, राजनीतिक, संगठनिक र सांस्कृतिक रुपले बलियो पार्न र जनसम्बन्धलाई घनिष्ट पार्न जोड लगाउनुको विकल्प छैन ।’

प्रचण्डले पार्टीलाई बलियो बनाउँदै नयाँ गति प्रदान गरी उपलब्धि रक्षा गर्ने सवालमा उठान गरेका विषय वस्तुगत नै छन् । तर, पार्टीलाई वैचारिक रुपमा कसरी बलियो बनाउने, संगठनात्मक संरचनालाई कसरी चुस्त बनाउने, विचार, आदर्श र सिद्धान्तको आलोकमा सांस्कृति रुपमा कसरी अडिग रहने भन्ने सन्दर्भमा दस्तावेज स्पष्ट छैन । ‘जनसम्बन्धलाई घनिष्ट पार्न जोड दिनुपर्छ’ भनेता पनि प्रचण्डले बदलिँदो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट पार्न सकेका छैनन् ।

दस्तावेजको बुँदा ४ मा ‘पार्टी इतिहासको संक्षिप्त सिंहवालोकन’ शीर्षकमा प्रचण्डले कम्युनिष्ट पार्टी स्थापनादेखि नेकपा खारेजीपछि उत्पन्न राजनीतिक परिस्थितिसम्म व्याख्या गरेका छन् । एमालेसँगको एकतालाई ‘शान्ति प्रक्रियामा आएदेखि नै अघि सारेको बृहत् कम्युनिष्ट एकताको कार्यभार पूरा गरेको’ भन्दै प्रचण्डले उपलब्धि मानेका छन् । एकतापछिको केन्द्रीय समितिको संयुक्त बैठकबाट पारित राजनीतिक प्रतिवेदन र विधान मूलभूत रुपमा सही र क्रान्तिकारी स्प्रिटमा रहेको भन्दै एमालेसँगको एकता ठिक थियो भन्ने प्रचण्डले दाबी गरेका छन् ।

एमालेसँग एकता ठिक रहेको भनेका प्रचण्डले माक्र्सवाद विरोधी, सामन्ती, दलाल, पूँजीवाद र वैदेशिक प्रतिक्रियावादीका अगाडि आत्मसमर्पण गर्ने ओलीको चरित्र नेकपा खारेजीको कारण भनेका छन् । नेकपा खारेजीमा संसद सचिवालय, निर्वाचन आयोग र अदालत सारथी बनेको प्रचण्डको दस्तावेजमा उल्लेख छ ।

प्रचण्डले एमालेसँग एकता गरेर बृहत् कम्युनिष्ट एकताको कार्यभार पूरा गरेको भन्दै एकताको स्वामित्व लिने प्रसाय गरे पनि एकता र खारेजी सम्बन्धमा वस्तुगत आत्मसमीक्षा र आत्मलोचना गर्न सकेनन् । ‘कम्युनिष्ट एकता ठिक थियो तर एकताको आधार ठिक थिएन’ भन्न प्रचण्ड तयार भएनन् । यसै सन्दर्भको सुरुवातमा प्रचण्ड आफैँले ‘हतारमा एकता गरियो’ भन्ने कोणबाट विषय राखेका छन् । तर, हतारमा एकता गर्दा एकता असफल भयो भन्न सकेका छैनन् । वस्तुगत अवस्था के थियो भने– चुनाव जित्न गठबन्धन बनेको थियो । जित्ने सवालमा गठबन्धन सफल भएपछि एमाले र माओवादीबीच एकता भएको हो । पार्टी एकताका लागि आवश्यक सैद्धान्तिक वैचारिक छलफल नै भएको थिएन । कम्युनिष्ट नै भए पनि दुई पार्टीको आचरण फरक थियो । सोही कारण एमाले–माओवादी एकता विफल भएको हो । यो वस्तुगत अवस्थाको समीक्षा गर्दै आत्मलोचना गर्न नसक्नु प्रचण्डको कमजोरी रह्यो ।

प्रचण्डले बुँदा २ मार्फत सेना समायोजमा भएको कमजोरी आधारभूत रुपमा स्वीकार गरेका छन् । सेना समायोजनपछि विभिन्न व्यक्तिबाट प्रस्तुत धारणालाई दस्तावेजमा समावेश गर्दै दस्तावेजको अंग बनाएका छन् । जुन धारणाहरुमा सेना समायोजनको क्रममा अध्यक्ष प्रचण्डको ‘ओभर कन्फिडेन्ट’ नै गम्भीर गल्ती भनिएको छ ।

उक्त धारणाहरुबाट शिक्षा लिनुपर्छ भन्दै भनेका छन्– ‘उपरोक्त कमजोरीहरुको स्वीकारोक्तिको अर्थ महान् जनयुद्धको, ऐतिहासिक शान्ति सम्झौता, पटक–पटकका जनआन्दोलन, संविधानसभाबाट समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र त्यसको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाधिनताको सुदृढीकरण, प्रतिगमन विरोधी आन्दोलन, समाजवादी क्रान्तिका लागि नयाँ क्रान्तिकारी विचारको विकाससहित नयाँ क्रान्तिकारी पहल समेतमा हाम्रो पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिकालाई अवमूल्यन गर्नु होइन अपितु त्यसलाई बलियो बनाउने ऐतिहासिक शिक्षाका रुपमा लिनुपर्छ ।’

प्रचण्डले राजनीतिक दस्तावेजमार्फत आधारभूत रुपमा गल्तीहरुको समीक्षा गर्ने कोसिस गरेका छन् । तर, मुख्य विषयमा आत्मसमीक्षा र आत्मलोचना गर्न प्रचण्ड चुकेका छन् । शान्ति प्रक्रियामा आएपछि २०६४ को निर्वाचनमार्फ पाएको अपेक्षित सफलताको उन्मादमा गरेका अनेक गल्तीहरु छोप्ने काम भएको छ ।

शान्ति प्रकृयामा आएपछि माओवादी मुख्य त संसदीय दलदलमा फस्यो । सत्ताको अतृप्त चाहनाले एकपछि अर्को गर्दै मुद्धाहरुसँग सत्ता साट्यो । सत्तासँग मुद्धा साट्दै जाँदा जनतासँग टुटेको सम्बन्धबारे प्रचण्डले बोल्नै सकेनन् । नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादी आन्दोलन फरक अभ्यास थियो ।

कम्युनिष्ट ‘वर्गीय मुक्तिमा समग्र मुक्ति सम्भव छ’ भन्ने मान्यता राख्छन् । माओवादी आन्दोलनले जाति, वर्ग, लिङ्ग र समुदायगत रुपमा मुद्दाहरुलाई विशिष्टिकृत गरिदियो । माओवादी प्रयोग सफल नै देखियो । तर, ती मुद्दाहरुलाई व्यवस्थापन गर्ने सन्दर्भमा माओवादी चुक्यो । आफैँले उठान गरेका मुद्दाहरुलाई उचित व्यवस्थान गर्न नसक्दा माओवादीले आफ्नो आधार गुमाएको कुरा प्रचण्डले मनन् गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्