Logo
Logo

लकडाउन गर्नु हुँदैन, अर्थतन्त्रले थेग्न सक्दैन : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संकटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?’, उनले भने, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

उनले मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै ती मुलुकमा शाखा खोल्न आग्रह गरे । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको बताउँदै उनले विशिष्टिकरण गर्नुपर्नेमा जोड दिए । ‘आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताए । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’

कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेकको उनले बताए ।

उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको जानकारी दिँदै उनले त्यसो नगर्न गरे । त्यसले गर्दा व्यवसाय असफल हुने उनको भनाइ छ ।

यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताए । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भन्नुहुँदै लकडाउन गर्न नहुने उनले बताए । ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्