सिन्धुपाल्चोक । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताएका छन् ।
गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङखुपाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताए।
शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयवासीको घरमा बसेर कार्यक्रमस्थल पुगेका सभामुख सापकोटाले भने, ‘यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छनु, राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फासीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ ।’
‘मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु,’ उनले भने, ‘म तपाईहरूका अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहुँ वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने अग्नि सापकोटाले यस्तो ग¥यो भनेर शिर निहु¥याउनुपर्ने छैन ।’
सभामुख सापकोटाले विसं २०६२ चैत १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा एकैचोटी एम १६ का तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै उनले भने, ‘म बाँचेको छु किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।’
आवश्यक पर्दा सबैसँग कठोर भन्दा कठोर सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहो¥याए । भारतका देशभक्त सहिद भगतसिंहकोे स्मरण गर्दै उनले आफू जिन्दगीको अन्तिम घडीसम्म उभिइरहन चाहेको बताए ।












