Logo
Logo

सशस्त्रमा बदनामहरू पुरस्कृत



काठमाडौं । साउन महिनामा हुुनपर्ने सशस्त्र प्रहरीका एसपीहरुको सरुवा पुसको अन्तिममा भएको छ । ६ महिना पछि भएको सरुवामा बदनामहरु नै हाबी भएका छन् ।

महत्वपूर्ण गणहरुमा भ्रष्ट आचरणका अधिकृतहरुले मौका पाएका छन् । मोबाइल तस्करी प्रकरणमा दुई वर्ष जेल बसेका एसपी हर्क पन्तलाई कार्यदल गणको जिम्मा दिइएको छ । यो सशस्त्र प्रहरी मुख्यालयसँगे रहेको यो गण जिम्मेवारीका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ ।

त्यस्तै, महोत्तरीमा बदनाम एसपी सुरेश सापकोटालाई फेरि इलाम गणको जिम्मेवारी दिइएको छ । सिराहामा अकुत कमाएका एसपी दीपेन्द्र गिरीलाई फेरि त्यही प्रदेशको महोत्तरी गणको जिम्मा दिइएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । तस्करीको सेटिङ मिलाउने समूहसँगको मिलेमतोमा उनको सिराहाबाट महोत्तरी सरुवा भएको स्रोत बताउँछ ।

प्राबिधिक पृष्ठभुमिका एसपी बिमल डांगिलाइ रक्तकाली गण सुर्खेतको कमाण्ड दिइएको छ । सशस्त्रको सरुवामा सबै जसो बदनामहरु यसपटक पुरस्कृत भएको चर्चा संगठनमा छ ।

पटक पटक इन्चार्ज भइसकेका शंकर खनाल रुपन्देहीस्थित २७ गणको इन्चार्ज छन् । जहाँ उनको नेतृत्वमा तस्करी मौलाएको छ । एसपी खनाल र डन्डा बिओपीका इन्सपेक्टर कृष्ण अर्यालको मिलेमतोमा तस्करी बढेको हो । सेटिङ मिलेसँगै पक्राउको संख्या एक महिनायता शून्य रहेको एक सशस्त्र प्रहरी अधिकृतले बताए । इन्सपेक्टर अर्याल गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा एकल सरुवा गराएर डण्डा पुगेका हुन् ।

त्यस्तै, गण र बिओपीमा पनि सरुवाको तयारी भइरहेको छ । सरुवाका लागि केही बिचौलिया समूहले पैसा उठाइरहेको स्रोत बताउँछ । बिओपी जाने इन्सपेक्टरहरु अग्रिम रुपमा पैसा बुझाएर जाने परिपाटी बढेको स्रोतले दृष्टिलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्