
काठमाडौैं । काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसूचना जारी गर्दै आज (मंगलबार)देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सुरु भइसकेको छ ।
मन्त्रालयले खोप कार्यक्रम सुरु नभएका स्थानमा आजबाट लगाइने जनाएको छ । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइनेछ ।
बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह पनि गरेको छ ।












