Logo
Logo

चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन



विराटनगर । कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादवसहितको टोलीले सीमा नाकाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । कोरोनाको सङ्क्रमणको दर बढिरहेको भन्दै उनले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष लिएको छ । नेपाली सेना कालीशक्ति गणका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।

बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए । मन्त्री कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामाग्री आफूले दिने बताए । उनले भने, ‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षा कोष, महानगरपालिका सँग समन्वय गर्नुपर्याे । पानी तान्नका लागि कल कहीँ छैन भने म कहाँ आउनुहोस् ।’

सीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिए । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारी गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस्,’ उनले भने, ‘हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिन भित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्