Logo
Logo

चुरे क्षेत्रको वनमा जनप्रतिनिधिको र वन कर्मचारीको गिद्वेदृष्टि


वीरेन्द्र रावल


धनगढी । कैलाली जिल्लाको वन जंगललाई बाहिरी आँखाले हेर्दा घना र हरियाली देखिएतापनि सघन रुपमा हेर्दा जिल्लाको वनक्षेत्र वनमाफियाको चंगुलमा फँस्दै गएका कारण पानीका स्रोतहरु नासिदै जान थालेको छ । कैलाली जिल्लाको वन विनाशमा जनप्रतिनिधि, वन कर्मचारी र वनमाफियाको ठूलो सञ्जाल सक्रिय रुपमा रहेका कारण वन क्षेत्र चरम संकटमा पर्दै जान थालेपछि पानीका स्रोतहरु पनि नासिदै जान थालेका छन । पानीका स्रोतहरु नासिदै गएकोमा स्थानीय जनता र संरक्षणविद्हरु चिन्तित् बन्न थालेका छन् ।

जिल्लाको चुरे क्षेत्र दोहनका कारण पानीका स्रोतहरु नासिदै जान थालेको विज्ञहरुले बताएका छन । विज्ञहरुका अनुसार कैलाली जिल्ला सबै भन्दा बढी वन जंगल भएको क्षेत्र हो । तर अहिले आएर जिल्लाको सबै हराभरा वन जंगल वन माफियाहरुको चंगोलमा परेको देखिन्छ ।

कैलाली जिल्लाको कुल १ लाख ६१ हजार ७ सय ७१ हेक्टर भूमिमा ८८ हजार २ सय हेक्टर वन क्षेत्र ओगटेको वनको प्रतिवेदनमा हेर्न सकिन्छ । हाल आएर कैलाली जिल्लाको वन क्षेत्र हेर्ने हो भने दिनप्रति दिन वन माफिया र तस्करहरुले आगो लगाएर होस् या वनमा भएका हरिया रुखहरु काटेर होस् या वैज्ञानिक वन बनाउने नाममा होस् वन क्षेत्र नास्दै जान थालेको प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।

हरेक वर्ष जिल्ला वन कार्यालय कैलालीले आफ्नो प्रगति विवरणमा वनको अवस्थामा सुधार आएको चरि चरन, आगलागी र तस्करी नियन्त्रणमा सफलता प्राप्त भएको भन्ने हावादारी प्रतिवेदनले प्रस्तुत गर्ने गरेको छ । यसले यो पुष्टि हुन्छ कि वन कर्मचारी पनि तस्करहरु संग मिलेर जनताको आँखामा छारो हाल्ने कार्यमात्र भैरहेको ।

जब—जब देशमा राजनीतिक परिवर्तन र निर्वाचनहरु आउने गर्दछन् त्यतिबेला नै तस्करहरुले संगठित रुपले वन विनाशको योजना गर्ने गरेको पाइएको छ । कैलाली जिल्लाको वन क्षेत्रमा स्थानीय, केन्द्र सरकार देखि लिएर वन विभाग, वन मन्त्रालयको मिलेमतोमा वर्षेनी काठ दाउरा सदुपयोगका नाममा ठूलो वन क्षेत्र विनाश हुने गरेको देखिन्छ । कैलालीको वन संकटमा पर्दै जान थालेकाले वनमा भएका जीव जनावर र पशुपन्छिहरु पनि लोप हुँदै जान थालेका छन ।

वन विनाशले जलवायु परिवर्तनमा प्रतिकूल असर परेका कारण बैशाख—जेठको महिनामा पनि आगोको धुवाँले तुवाँलोको रुप लिएको र वातावरण पनि प्रदुषित हुँदै जान थालेको विज्ञहरुले बताएका छन । विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण वातावरणमा भएको प्रदुषणले मानिस देखि लिएर पृथ्वीमा भएका जीव जनावरहरुको आयु घट्दै जानेमा उनिहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सयममा आएर कैलाली जिल्लामा वैज्ञानिक वन कार्यक्रम लागु गरेर ठूलो वन सम्पदालाई समाप्त पार्ने योजनामा र अहिले आएर वनमा आगो लगाएर वन जंगले नास्ने कार्य भइरहेको प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।

नेपालको सबै भन्दा बढी वनक्षेत्र कैलालीमा भएकोले पनि यहाँको हरियाली समाप्त गरेर ठूलो सम्पति कमाउने योजनामा वन विभाग, स्थानीय सरकार र प्रदेश सरकार सक्रिय रुपमा लागि परेको स्रोतले बताएको छ ।

नेपालको सबै भन्दा बढी काठ लिलाम हुने जिल्ला कैलाली पर्दछ । एक दिन बिराएर काठ लिलाम सम्बन्धी सूचनाहरु सार्वजनिक हुने गरेका छन् । आन्तरिक खपत नभई छिमेकी र जिल्ला बाहिरका उपभोक्ताका नाममा भनि जारी गरिने सूचना जनताको बस भन्दा पनि बाहिर हुने गरेको स्रोतको दावी छ । सामुदायिक वनमा आगो लगाउने, रातीको समयमा काठ कटानी गर्ने र चोरहरुले काठ काटेको भन्दै मुचुल्का बनाएर त्यहि काठ लिलाम गर्ने परिपाटी रहेको पाइएको छ ।

 

काठ तस्कर वन कर्मचारी र स्थानीय टाठाबाठा व्यक्तिहरुको मिलेमतोमा विद्यालय निर्माण गर्ने, बाटो निर्माण गरिदिने लगायतका विभिन्न प्रलोभन देखाएर जनतालाई गुमराहमा पारेर काठ कटानी गर्ने, त्यो काठलाई बेवारिसे बनाएर लिलाम गर्ने लिलाम गरेको काठ उठाउने जिम्मा काठ संकलनमा जसले लगानी गरेको छ त्यही ठेकदारलाई हतान्त्रण वा मिलेमतोमा दिने योजनाहरु बनाएर व्यापक काठ तस्करी गर्ने गरेका छन् ।

अवैध तरिकाले भैरहेको काठ तस्करीमा स्थानीय राजनीतिक दलका प्रतिनीधि, स्थानीय वडा कार्यालयका अध्यक्ष देखि लिएर राजनीतिक दलका केहि अगुवाहरुले चुनावमा तस्करहरुबाट चुनाव खर्च भनि लिएको चन्दको असुली गर्नकै लागि पनि वन कर्मचारीको मिलेमतोमा अवैध तस्करी गरिरहेको स्रोतले बतायो । वातावरणीय अवस्थालाईनै चुनौति दिंदै भईरहेको वन विनाशमा संघीय सरकार, प्रदेश सरकार, वन विभाग, वन मन्त्रालयले नदेखेझै गर्नाले पनि उनीहरुको संलग्नता तस्करहरु संग छ भन्नेकुराको पुष्टि हुन्छ । कैलालीको वनलाई चरणबद्व रुपले भैरहेको तस्करीलाई रोक्नका लागि सरकारले अग्रसरता देखाउनु पर्ने स्थानीय जनताको माग रहेको छ ।

चुरे क्षेत्र र तल्लो तटिय क्षेत्रको वनलाई राज्यले बिशेष संरक्षण क्षेत्रको रुपमा विकास गर्दै जानु पर्ने पनि विज्ञहरुको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्