Logo
Logo
राष्ट्रियसभा निर्वाचन

मधेसमा एमाले र लोसपाबीच गठबन्धन



जनकपुरधाम । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।

मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति बिहिबार भएको हो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटीका अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन् ।

मधेस प्रदेशमा एमाले र लोसपाले गठबन्धन बनाए पनि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउन नसक्ने देखिन्छ । मतभारको आधारमा अन्य प्रदेशजस्तै मधेस प्रदेशमा पनि सत्तारुढ गठबन्धन नै बलियो रहेको छ ।

मधेस प्रदेशमा दुई सिटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाले मधेस प्रदेशमा साझा उम्मेदवार उठाएका छन् ।

प्रतिपक्षी एमाले र लोसपाको छुटाछुटै उम्मेदवारी परेको छ । मधेस प्रदेश महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, लोसपाबाट रुपाकुमारी यादव र एमालेबाट विना देवीको उम्मेदवारी परेको छ ।

यस्तै अन्यमा समूह तर्फमा जसपाबाट महमद खालिद र एमालेबाट उसमान अंसारीको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार देशैभरीबाट १९ सिटका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । माघ १२ गते हुने निर्वाचनमा सम्बन्धीत प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था छ ।

कसको मतभार कति ?

प्रदेश २ मा पाँच दलीय गठबन्धनको मतभार बढी छ । प्रदेश २ मा १०४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ रहेका छन् । सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो । जसको जम्मा मतभार ९ हजार ८७० हुन्छ ।

प्रदेश २ मा पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मतभार ७ हजार ३०२ हुन्छ । यस आधारमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्न एमालेलाई सम्भव छैन् । एमाले र लोसपा मिल्दा समेत पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजीत गर्न सक्दैनन् ।

प्रदेश २ मा जसपाको सांसद संख्या ३९ छ भने प्रमुख उपप्रमुखको संख्या ६२ हो । जसको जम्मा मतभार २९ सय ८८ हुन्छ । यस्तै कांग्रेसको सांसद संख्या १९ र प्रमुख उपप्रमुखको संख्या ७५ हो । जसको मतभार २२ सय ६२ हुन्छ ।

माओवादी केन्द्रको प्रदेश २ मा सांसद संख्या ८ र प्रमुख, उपप्रमुखको संख्या ४५ हो । जसको मतभार ११ सय ९४ हुन्छ । यस्तै एकीकृत समाजवादीको सांसद संख्या १३ र प्रमुख उपप्रमुखको संख्या ७ हो । जसको मतभार ७ सय ५० हुन्छ ।

एमालेको सांसद संख्या ८, प्रमुख र उपप्रमुखको संख्या ३० हो । जसको मतभार ९ सय २४ हुन्छ । यसैगरी लोसपाको सांसद संख्या १६, प्रमुख र उपप्रमुखको संख्या ४४ हो । जसको मतभार १५ सय ६० हुन्छ ।

प्रदेश २ मा नेपाल संघीय समाजवादीको सांसद एक हो । उसको मतभार ४८ हुन्छ । यस्तै नेपाली जनता दलको प्रमुख र उपप्रमुख २ छ । उसको मतभार ३६ हुन्छ ।

यस्तै तत्कालिन लोकतान्त्रिक फोरमको स्थानीय तहमा प्रम्ख र उपप्रमुखको संख्या ६ हो । जसको मतभार १ सय ८ हुन्छ । बिजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेससंग एकीकरण गरिसकेकाले ती प्रमुख र उपप्रमुख पनि कांग्रेसमा गईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्