काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (शुक्रबार) बस्ने भएको हो ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । यसअघि विहिबार बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो।
विहिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तापछि आजका लागि बैठक तय भएको हो ।
आजको बैठक मुख्य रुपमा स्थानीय तहको निर्वाचन लगायतको पछिल्लो राजनीतिक घटनाक्रममै केन्द्रित हुने बताइएको छ ।
निर्वाचन आयोगले वैशाखभित्रमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा गठबन्धन दलबीच सहमति जुट्न सकेको बाँकी छ ।












