Logo
Logo

कामना सेवा विकास बैंकको उद्यमशीलता विकास बारे तालिम सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंकको इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएको छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवद्र्धननका लागि बैंकले उक्त कार्यक्रम गरेको थियो ।

माघ २ देखि ६ गतेसम्म जुमको माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी र उद्यमी बन्न इच्छुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त कार्यक्रमले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सहीरुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताएका थिए ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत नीरज खनालले सम्पूर्ण सहभागीलाई अन्तरक्रियात्मक सहभागिताका लागि धन्यवाद ज्ञापन गरी आगामी दिनमा सहभागीहरुको सफल उद्यमका लागि शुभकामना दिँदै सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्णरुपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्