Logo
Logo

सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोज्दैछ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।

आईतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले विगतमै टुंगिसकेको चीनसँगको सीमा विवादमा प्रश्न गर्दै सम्बन्ध विगार्ने काम देउवा नेतृत्वको सरकारले गरिरहेको आरोप लगाएका छन् ।

‘विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको छ’ ओलीले जारी गरेको प्रेस बिज्ञप्तीको बुँदा नं. ५ मा उल्लेख गरिएको छ ।

चीनप्रति नरम देखिएका ओली भारतप्रति कडा रुपमा प्रस्तुत भएका छन् । चीनसँगको सीमा विवादबारेमा सरकारले छानबिन समिति गठन गरेर विवाद समाधान गर्ने प्रयास गर्दा ओलीले चीनसँग कुनै सीमा विवाद नै नभएको ठोकुवा गरेका छन् । तर, भारतसँगको बिभिन्न बिषय उठाउँदै उनले आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखापरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा– लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ ।’

भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा वेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको देउवा सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको आरोप ओलीको छ ।

‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरुका लागि ‘कम्फर्टेबल‘ बन्ने वचनबद्धतासहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ’ ओलीले भनेका छन् ।

यस्तै, अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको आरोप उनले लगाएका छन् ।

‘अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरुले हिजो आफैँले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन्’ उनले भनेका छन् ।

यसैगरी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा एकैचोटी दर्जनौं मुलुकहरूबाट राजदूत फिर्ता गराउँने सरकारले नेपालसँग महत्वपूर्ण सम्बन्ध रहेका मुलुकस्थित नियोगहरूलाई महिनौंसम्म राजदूतविहीन बनाउने गैरजिम्मेवार काम गरेको आरोप लगाएका छन् ।

केपी ओलीद्वारा जारी विज्ञप्तिको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्