Logo
Logo

रूपन्देहीमा कोरोना कालमा पनि मन खोलेर लगानी



बुटवल । बुटवल लुम्बिनी प्रदेशको स्थायी राजधानी बन्न नसकेपनि यो क्षेत्र आर्थिक विकासका सवालमा धेरै आधार र सम्भावना भएको क्षेत्र हो ।

यसै क्षेत्रमा पर्ने गौतमबुद्धको जन्मस्थल ‘लुम्बिनी’ विश्वमै महत्व र चर्चा विषय हो । धार्मिक तथा सांस्कृतिक रुपमा स्थापित यस क्षेत्रको आर्थिक दृष्टिकोणले पनि उपस्थिति राम्रो छ ।

त्यसैले होला, कोरोना महामारीको जटिल परिस्थितिमा पनि यहाँका उद्योगी व्यवसायी रोकिएनन् । चालु उद्योग व्यवसायको रफ्तार उस्तै छ । उद्योग व्यवसायमा नयाँ–नयाँ सम्भावनाको खोजी र उत्साह पनि उस्तै छ ।

बुटवल, पश्चिम नेपालकै औद्योगिक एवं व्यापारीक केन्द्र हो । बुटवलले लामो समयदेखि आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

संघीय राजधानी काठमाडौंपछि आर्थिक राजधानी बन्न सक्ने बुटवलसँग प्रसस्त आधार र सम्भावना छ । बुटवललाई केन्द्र बनाएर समग्र लुम्बिनी प्रदेशको विकास गर्न सकिन्छ ।

बुटवल हाल लुम्बिनी प्रदेशको अस्थायी राजधानी मात्र हो । तर, स्रोत साधन र सम्भावनाको दृष्टिमा बुटवललाई राजधानी मान्नुपर्ने हुन्छ ।

देशको दोस्रो ठूलो आर्थिक हबको रुपमा हेरिएको बटवलको अनेक सम्भावनाले यहाँका उद्योगी व्यवसायी आशाती छन् । त्यसैले पछिल्लो समय उद्योग, स्कूल–कलेज, होटल लगायत क्षेत्रमा लगानी बढेको छ ।

रुपन्देहीको बुटवल, भैरहवा, तिलोत्तमा र लुम्बिनी करिडोर आसपासमा रहेका दर्जनौ प्रतिष्ठित उद्योग, कलकारखाना, बैंक तथा वित्तीय संस्थाको भूमिका आर्थिक विकासमा अहम् रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सिक्स लेन सडक, अन्तर्राष्ट्रिय सभाहल निर्माण, औद्योगिक क्षेत्रहरुको विस्तार, सडक यातायातको पहुँच जस्ता विकासले यस क्षेत्रमा उद्योगी व्ययसायी तानिएका हुन ।
०००

माधव पौडेल

रुपन्देही उद्योग संघ बुटवलका अध्यक्ष माधव पौडेल रुपन्देही औद्योगिक हब भएकाले जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा लिइने बताउँछन् ।

कोरोनाको तेस्रो भेरियन्टसम्म आइपुग्दा स्वास्थ्य सुरक्षालाई ख्याल गरेर यहाँका सिमेन्ट, खाद्यन्न, प्लाष्टिक, छड, फेब्रिकेसन लगायत उद्योगहरु निर्बाध रुपमा संचालन भइरहेकाले यहाँ धेरैले रोजगारी पाउँनुका साथै उद्योगीहरुले राज्यलाई कर बुझाइरहेको पौडेलको भनाइ छ ।

यहाँका उद्योगीले कोरोना महामारीको समयमा पनि राज्यप्रति इमानदारपूर्वक दायित्व पूरा गरे पनि राज्यबाट यस्ता उद्योगलाई संरक्षण गर्ने र बचाउने सवालमा ध्यान नपुगेको अध्यक्ष पौडेलको गुनासो छ ।

आर्थिक समृद्धि राजनीतिक दलहरुकै एजेण्डा भएकाले राज्यले उद्योगमैत्री वातावणमा ध्यान दिन जरुरी रहेको प्लाष्टिक उद्योगका संचालकसमेत रहेका अध्यक्ष पौडेल बताउँछन् ।
०००

रुपन्देहीको बुटवल, भैरहवा र लुम्बिनी लगायतको करिडोर क्षेत्रमा दर्जनौ उद्योग संचालनमा छन् । बुटवल औद्योगिक क्षेत्रमा मात्र हाल विभिन्न प्रकृतिका ७२ वटा उद्योग संचालनमा छन् ।

यशोदा फुड्सको उत्पादन करेन्ट लाली चाउचाउको बजारमा माग राम्रो छ । कमल किशोर मालपानी, चुन्नप्रसाद पौडेल र ऋषि भण्डारी यशोदा फुड्सका संचालक हुन् । बजारको माग राम्रो भएकाले उनीहरु मन खोलेरै लगानी बढाइरहेका छन् ।

मधुसूदन घिमिरे

करेन्ट लाली चाउचाउको बजार नेपालमा मात्र सीमित छैन । भारत, अमेरिका र यूरोपका विभिन्न देशमा समेत बजार विस्तार गरिसकेको छ ।यशोदा फुड्सका प्रबन्धक मधुसूदन घिमिरे कोरोना महामारी लगायत विभिन्न समस्याहको बावजुद स्वास्थ्य मापदण्ड पालना गरेर उत्पादनमा जोड दिएइको बताउँछन् ।

प्रबन्धक घिमिरे यो उद्योगमा मात्र हाल ७ सयभन्दा धेरैले रोजगारी पाएको बताउँदै राज्यले उद्योगीको समस्या बुझिदिनुपर्ने, विदेशवाट आयात गर्नुपर्नेे वस्तुमा सहजीकरण गरिदिनुपर्ने लगायत अपेक्षा राख्छन् ।

उनी भनन्छन– ‘उद्योगमैत्री वातावररण बन्न सके अझ धेरैलाई रोजगार दिन सकिन्छ । उत्पादन बढे राज्यलाई राजस्व धेरै बुझाउन सकिन्छ । त्यसैले राज्यले हामी उद्योगी व्यवसायीलाई सहयोग गर्नुपर्छ ।’

कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेल श्री राम टोवाको उद्योगका संचालक पनि हुन् । उनीहरु कोरोना महामारीमा पनि थप जोस र जाँगरका साथ उद्योग विस्तारमा लागेका छन् । उनीहरु अहिले पँचास करोड भन्दा धेरै लगानीमा बुटवलमा आधुनिक अस्पताल र होटल सञ्चालमा जुटेका छन् ।
०००

देबेन्द्र शाहु

पञ्चकन्या ग्रुपले यस क्षेत्रमा ५ हजारभन्दा धेरैलाई रोजगारी दिएको छ । ग्रुपका महाप्रबन्धक देबेन्द्र शाहु बिहानैदेखि उद्योगमा भेटिन्छन् । उनी भन्छन्– ‘व्यवसायी महामारीको बेला पनि हिम्मतका साथ अगाडि बढेका छौं । तर हामीलाई अनेक समस्या छ । यस्तो अवस्थामा राज्यले हामीलाई सहयोग गर्नुपर्छ ।’

संकटको बेला उद्योग कसरी राम्रो चनाउने भनेर सोच्नेभन्दा पनि खोप कहाँ र कसरी पाइन्छ भनेर सोच्नुपर्ने समस्या रहेको उनको दुखेसो छ । राज्यले उद्योगका कामदारलाई लक्षित गरेर खोप खार्यक्रम संचालन गर्नुपर्ने उनको सुझाव छ ।

आफ्नो उद्योगले ठूलो मात्रामा कर तिरेर राज्यकोषमा योगदान गर्दै आएको भए पनि राज्यले राम्रो करदाताको रुपमा बुझ्न नसकेको उनको गुनासो छ ।

विद्युत ट्रंक लाइन, हाई–लो भोल्टेज ट्रिपको समस्या, सामान आयात र निर्यातमा एउटै वस्तुको मूल्यमा एकरुपता र सहजता नहुनु जस्ता समस्याले उद्योगी मारमा रहेको उनको भनाइ छ ।
०००

यज्ञश्वर थैव

यस क्षेत्रमा आवास ग्रुप पनि कृयाशिल छ । यस वर्ष मात्रै यस ग्रुपले बेल्चा उद्योग संचालनमा ल्याएको छ । तर, आवासको गुनासो पनि उस्तै छ । राज्यको नीति उद्योगमैत्री नहुँदा समस्या भएकाले उत्पान बढनाउने अवस्था नरहेको संचालक यज्ञश्वर थैव बताउँछन् ।

थैव भन्छन– ‘सरकारले हाल कृषिकार्यमा प्रयोग हुने भन्दै भारतबाट तयारी बेल्चा ल्याउँदा भन्सार छुट दिने गरेको छ । तर, स्वदेशमै उत्पादन गर्नका लागि आवश्यक कच्चापदार्थ आयातमा भन्सार छुट दिएको छैन । महंगो भन्सार तिरेर कच्चा पदार्थ ल्याउँदा प्रतिगोटा एकसयभन्दा धेरै उत्पादन लागत बढ्छ । त्यसैले हामी समस्यामा छौ ।’

यस क्षेत्रमा आवास ग्रुपले गार्मेन्ट, फुड्वेयर र ज्याक्वार, पाइपवायर फिटिङ लगायतका उद्योग संचालनमा ल्याउने तयारी गरेको छ । हाल आवास ग्रुपका एक दर्जन उद्योग संचालनमा छन् । यी उद्योगमा एक हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।
०००

बुटवललाई आर्थिक हबको रुपमा स्थापित गर्न योगदान गरिरहेका उद्योगी यति मात्र होइन । अझै धेरैले महामारीको संकटमा पनि उद्योग व्यवसाय संचालन गरिरहेका छन् ।

यस क्षेत्रका धेरै व्यवसायी सम्मिलित लुम्बिनी कृषि उपच थोक बजार प्रा.लि.ले मणिग्राममा करिव २० करोड लगानीमा नेपालकै आधुनिक र सुविधासम्पन्न लुम्बिनी कृषि उपज थोक बजार केन्द्र स्थापना गर्दैछ । आगामी वैैशाख जेठमा काम सक्नेगरी काम भइरहेको अध्यक्ष भीमकान्त पन्थी बताउँछन् ।
०००

संकटको समयमा पनि उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगी व्यसायीको अनेक गुनासा छन् ।

भन्छन– ‘हामी संकटको बेला पनि काम गरिरहेका छौं । राज्यलाई कर तिरिरहेका छौं । तर, राज्यले उद्योगी व्यवसायीको समस्या बुझ्ने प्रयास समेत गरेको छैन । उद्योग व्यवसायबाट नै हो राज्यले आर्थिक समृद्धि हासिल गर्ने । त्यसैले हाम्रो समस्या बुझिदिनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्