Logo
Logo

प्रहरीमा व्यापक हेरफेरको तयारी



काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक हेरफेर हुने भएको छ । गृह मन्त्रालयले दुवै निकायमा सरुवा र बढुवाको तयारी गरिरहेको छ ।

नेपाल प्रहरीमा विभिन्न जिल्लाका एसपी र डिएसपीको सरुवाको तयारी गरेको छ । एसपीको सरुवामा सबैको ध्यान चितवनमा केन्द्रित छ भने, डिएसपीको सरुवामा रसुवा परेको छ । चितवनका एसपी ओम अधिकारीको एक वर्षको अवधि पुगेकाले उनको सरुवा हुन लागेको हो । जहाँ एक दर्जन एसपीहरु दौडधुपमा लागेका छन् ।

एसपी नवराज अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाकडीमा लागेका छन् । प्रचण्डको गृह जिल्ला भएको र गठबन्धनको सरकार भएकाले प्रचण्डकै सहमतिमा मात्र गृहले चितवनमा एसपी पठाउने तयारी गरेको छ । त्यस्तै, अर्का एसपी कृष्ण पंगेनी शालीकराम जमरकट्टेल लगायतको पावर लगाएर चितवन जाने प्रयासमा छन् ।

त्यस्तै, अजय केसी, रविन्द्र रेग्मी लगायत पनि दौडमा छन् । यही सरुवामा रुपन्देहीका एसपी मनोज केसीलाई पनि हटाउने तयारी भइरहेको स्रोत बताउँछ । तस्करीको सेटिङमा गृहमन्त्री निकटलाई सहयोग नगरेपछि केसीलाई नौ महिनामै हटाउन लागिएको स्रोतले बताएको छ । यसपटकको सरुवामा महोत्तरीका जिल्लाको नेतृत्व पनि हेरफेर हुने भएको छ ।

त्यस्तै, विभिन्न जिल्लाका डिएसपीको पनि एक वर्षको अवधि पुगिसकेको छ । डिएसपी सरुवाका लागि प्रहरी अधिकारीहरु नेताको घर घर दौडिएका छन् । सरुवामा धेरै जसो रसुवा र दोलखा जिल्ला जान चाहेका छन् । सरुवामा बिचौलिया हाबी भएका छन् ।

आगामी बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिताको कारण हाल सरुवा र बढुवाका काम रोकिएका छन् । चुनाव लगत्तै नेपाल प्रहरीमा एआइजीको दरबन्दी पनि थपिने निश्चित भएको छ । तर कति थप्ने भन्ने अझै तय हुन सकेको छैन । असारदेखि रोकिएको लेखापालको सरुवाको पनि तयारी भइरहेको स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्