Logo
Logo

मेडिकल मफियाको फन्दामा मन्त्री


1.6k
Shares

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा मेडिकल माफियाहरु हाबी भएका कारण उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न मन्त्रालयले गत पुस ७ गते उपकुलपतिको लागि आवेदन माग गरेको थियो ।

फाइल फोटो

मन्त्रालयको उक्त सूचनाबमोजिम १६ जनाले आवेदन दिएका थिए । जसमध्ये उपकुलपति छनोट समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । जसमा डा. विकास लामिछाने, प्रा.डा. रामेश कोइराला, प्रा.डा. नारायणविक्रम थापा, प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ र प्रा.डा. राजेन्द्र वाग्लेको नाम परेको छ ।

यी नाममध्येहरुबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नुपर्नेमा डा. विकास लामिछानेलाई उपकुलपति बनाउन मेडिकल माफियाहरुको दौडधुप चलेको छ । यसैकारण स्वास्थ्यमन्त्री विरोध खतिवडा अनिर्णयको बन्दी बनेका छन् ।

मन्त्रालय स्रोतका अनुसार डा. लामिछानेको उपकुलपति बन्ने योग्यता नै पुग्दैन । उनी एकवर्षे मास्टर अफ पब्लिक हेल्थमा एमपिएच गरेका उम्मेदवार हुन् । मन्त्रालयद्वारा २०७३।७।२४ गते जारी निर्देशिकामा भनिएको छ– ‘उपकुलपतिको योग्यता चिकित्सा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मन्त्रालयसम्बन्धी निकायमा कम्तीमा ११ तह वा सो सरह काम गरेको हुनुपर्ने छ ।’

मन्त्रालय स्रोतका अनुसार यस निर्देशिकाको गोलमटोल भाषालाई समाएर मेडिकल माफियाहरुले स्वास्थ्यमन्त्री खतिवडालाई भ्रममा पारेका छन् । यो निर्देशिकाबमोजिम पनि उपकुलपतिको योग्यता स्नातकोत्तर हुनुपर्छ । डा. लामिछाने स्वास्थ्य मन्त्रालयका ११औँ तहबाट ‘रिटायर्ड’ कर्मचारी हुन् । उनको योग्यता डिप्लोमा मात्र हो । उपकुलपतिका लागि उनी अयोग्य व्यक्ति हुन् । उपकुलपतिको लागि निर्देशिकाले स्नातकोत्तर तोकेको छ ।

यस्ता अयोग्य व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने बाध्यता मन्त्री खतिवडालाई कहाँबाट आयो भन्ने कुरा छनोट समितिका पदाधिकारीहरुले समेत बुझ्न सकेका छैनन् । छनोट समितिमा अध्यक्ष मन्त्री खतिवडा, सदस्यसचिव रोशन पोखरेल र मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. लामिछाने स्वास्थ्य मन्त्रालयमा हुँदा उनको मेडिकल माफियाहरुसँग गहिरो सम्बन्ध थियो । त्यसै कारण वर्षौँदेखि विभिन्न सरकारी अस्पतालहरुको औषधि, उपकरण खरिदमा भागबण्डा गर्दै आएका व्यक्ति हुन् । डा. लामिछानेले मेडिकल माफियाहरुसँग मिलेर सेटिङमा टेण्डर आह्वान गर्ने र गुणस्तरहीन उपकरण भित्र्याउँदै आएका छन् । सेटिङमा भित्र्याइएका कतिपय उपकरण वीर अस्पतालमा त्यत्तिकै थन्किएका छन् । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयको ११औँ तहको कर्मचारी भएर ‘अकूत’ कमाएका डा. लामिछाने पैसाकै बलमा उपकुलपति बन्ने दाउमा छन् । यदि डा. लामिछाने उपकुलपतिमा नियुक्त भए मन्त्री खतिवडाकै स्वच्छ छविमाथि प्रश्न उठ्नेछ । त्यसैले योग्यता नै नपुगेको उम्मेदवारलाई पैसाकै बलमा उपकुलपति बनाउनुभन्दा मन्त्री खतिवडाले आफ्नो राजनीतिक भविष्य हेर्नुपर्छ भन्ने सुझाव मन्त्रालयका कर्मचारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्