Logo
Logo

एमालेको चुनावचिह्न ‘सूर्य’मा ग्रहण



काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को चुनाव चिह्न सूर्यमाथि पनि प्रश्न उठेको छ । निर्वाचन आयोगले राप्रपालाई नेपालको राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिह्न या झण्डाका रुपमा प्रयोग गर्न नपाइने भन्दै चुनाव चिह्न गाई हटाउन निर्देशनात्मक आग्रह गरेको छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।

राप्रपाले चुनाव चिह्न गाई पुनरावलोकन गर्नुपर्ने अवस्था आए नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमाथि पनि प्रश्न उठ्ने जानकारहरू बताउँछन् । अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘राप्रपाको चुनाव चिह्न गाईमाथि प्रश्न उठ्दा राष्ट्रिय झण्डामा उल्लेख भएको एमालेको सूर्य चिह्न पनि स्वभाविक रुपमा जोडिन्छ ।’ एमालेको चुनावचिह्न सूर्य राष्ट्रिय झण्डामा अंकित छ ।

निर्वाचन आयोगले २ माघमा राप्रपालाई लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिह्न दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गर्ने भन्ने आयोगबाट मिति २०७७÷१०÷०७ मा निर्णय भएको छ ।

विधानको धारा ४(क) मा उल्लेखित ‘झण्डाको मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न हुन ।’ भनिएको छ । आयोगले विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रसमेत हटाउन भनेको छ ।

यसअघि आयोगले सत्तारुढ माओवादी केन्द्रलाई संविधानसँग बाझिएको भन्दै ‘वर्ग संघर्ष’, ‘साम्यवादी दिशामा अघि बढ्नु’ र ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा’लगायतका शब्द हटाउन भनेको थियो ।

आयोगको निर्णयविरुद्ध राप्रपाले राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय गरिसकेको छ । राप्रपाले अदालतमा मुद्दा हाल्दा आयोगको निर्णयको पक्षमा फैसला आयो भने एमालेले पनि चुनाव चिह्न फेर्नुपर्ने अवस्था आउने जानकारहरू बताउँछन् ।

यद्यपि, कानुनविद्हरूले भने आयोगको निर्णय गलत भएको बताएका छन् । संविधानविद डा. भिमार्जुन आचार्य पहिला दर्ता भइसकेका दल र चुनाव चिह्नमाथि आयोगले अहिले फरक निर्णय गर्न नमिल्ने बताउँछन् । अभिवक्ता त्रिपाठी पनि आचार्यको रायमा सहमत छन् । तर, आयोगको यस निर्णयबाट राप्रपाले ‘गाई’ हटाउने हो भने एमालेले पनि ‘सूर्य’ चिह्न फेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्