Logo
Logo

प्रहरी मुख्यालयमा हलचल



काठमाडौं । प्रि–स्याट परीक्षामा प्रश्नपत्र नै चोरी भएको नेपाल प्रहरीको स्याट परीक्षा पनि विवादमा परेको छ । कोरोना संक्रमित रहेका प्रहरीले नै नक्कली पिसिआर रिपोर्ट पेश गरी परीक्षा दिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

राष्ट्रसंघका प्रतिनिधि समेतको सहभागितामा सोमबार प्रहरीमा शान्ति मिसन जानका लागि पास गर्नुपर्ने स्याट परीक्षा दिइएको थियो । जसमा सहभागी हुन पिसिआर रिपोर्ट अनिवार्य भनिएको थियो । केही प्रहरीले परीक्षा दिन नपाउने भएपछि संक्रमित नभएका व्यक्तिको स्वाव आफ्नो नाममा दिन लगाएर झुक्याएका हुन् । यो विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

यसअघि यूएन शाखाका एसपीकै घर्राबाट प्रश्नपत्र चोरी गरी बिक्रि समेत भएको थियो । जसमा संलग्न सइसहित तीन जना बर्खास्त भइसकेका छन् । त्यो परीक्षा रद्द गरी पछि अर्काे परीक्षा सञ्चालन गरिएको थियो । प्रि–स्याटमा सफल हुने मात्र स्याट परीक्षामा सहभागी हुन पाउँछन् ।

शान्ति मिसनमा अवसर कम हुँदै गएकाले स्याट परीक्षा उत्तिर्ण गरेपनि जाने सम्भावना भने कम हुन्छ । महिला र एकपटक पनि नगएकालाई प्राथमिकताका आधारमा पठाउने मापदण्ड बनाइएको छ । अर्काेतर्फ तल्लो तहका प्रहरीको आकर्षण रहेको एफपीयु मिसन पनि बन्द भइसकेको छ ।

उता महानगरीय अपराध महाशाखाका एक इन्सपेक्टर अनियमिततामा मुछिएका छन् । इन्सपेक्टर सानाकान्छा रम्तेलले सुन पसल चोरी गर्नेलाई पक्राउ गरी मुद्दा नचलाई छाडेको खुलेपछि हाल छानबिन थालिएको छ । एसएसपी चन्द्रकुबेर खापुङको कार्यकालमा महाशाखामा यस्ता धेरै बदमासी भएको प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै, अदालतका कारण प्रहरीको भर्ना यो वर्ष अनिश्चित बनेको छ । भर्नामा थारु समुदायलाई छुट्टै कोटा माग गरी दायर गरिएको रिटमा अदालतले अन्तरकालिन अन्तरीम आदेश दिएर थप सुनुवाई नगरेपछि इन्सपेक्टर र जवानको भर्ना प्रक्रिया अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्