Logo
Logo

ओलीका मन्त्रीहरू अख्तियारको छानबिनमा



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । ठूला किमिसका नीतिगत भ्रष्टाचारमा मन्त्रीहरु संलग्न रहेको पाइएपछि अख्तियारले छानबिन थालेको हो ।

आयोगले ओली सरकारका उद्योगमन्त्री लेखराज भट्टसँग त बयान नै लिइसकेको छ । तोकिएको भन्दा धेरै उत्खनन गर्ने नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवाना मिनाहा गरेपछि भट्टमाथि छानबिन सुरु भएको हो । उद्योगीहरुसँग लाभ लिएर राज्यले उठाउनुपर्ने जरिवाना उन्मुक्ति दिइएको थियो । भट्टको निर्देशनमा भएको सवा अर्बको यो भ्रष्टाचार प्रकरणको छानबिन रोक्न अख्तियारमाथि दबाब परिरहेको बताइन्छ । यस्तै ठूला भ्रष्टाचार प्रकरणबाट जोगिन पनि भट्ट माओवादी छाडेर एमालेमा आबद्ध भएको स्रोत बताउँछ । उद्योगमा हुँदा उनले गरेका अन्य भ्रष्टाचारका विषयमा पनि अख्तियारमा उजुरी परेको छ ।

ओली सरकारमा मन्त्री रहेका भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, योगेश भट्टराईविरुद्ध पनि अख्तियारमा उजुरी परेपछि छानिबन भइरहेको छ । भानुभक्त ढकाल ओम्नी प्रकरणमा मुछिएका थिए । बिना प्रतिस्पर्धा महगो मूल्यमा ओम्नी समूहलाई स्वास्थ्य सामान खरिद गर्दा भ्रष्टाचार भएको ससदीय छानबिन समितिले ठहर गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।

त्यस्तै पद्मा अर्यालमाथि पनि उजुरी परेको छ । गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा आयोगमा उजुरी परेको छ । कानून नै संशोधन गरेर सहरको हदबन्दीभन्दा धेरै रहेको सहरको जग्गा बिक्री गरी गाउँमा खरिद गर्न स्वीकृत दिएर नीतिगत भ्रष्टाचार भएको थियो । जून पछि अदालतको आदेशपछि रोकिएको छ ।

कृषिमन्त्री हुँदा मल खरिदको भ्रष्टाचारमा पनि उनी मुछिएकी थिइन् । उनकै सेटिङमा कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको थियो । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना मात्र मुद्दा दायर गरिसकेको छ । मन्त्रीको त्यसमा लिखित संलग्नता नदेखिएपछि मन्त्री अर्याल जोगिएकी थिइन् । तर, जोशी बिज हाउसलाई ठेक्का दिनेगरी काम गर्न उनले नै निर्देशन दिएकी थिइन् । सो मल खरिदमा एक अर्ब ५३ करोड घोटाला भएको थियो ।

ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराई पनि अहिले छानबिनमा तानिएका छन् । नारायणहिटी संग्रालयमा क्याफेका नाममा रेष्टुरेन्ट चलाउन दिने निर्णय उनकै कार्यकालमा भएको थियो । हाल पर्यटन मन्त्रालयले आन्तरिक छानबिन गरी अनियमितता भएको निष्कर्षसहित थप कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ । त्यस्तै पशुपतिमा धर्मशाला होटल चलाउन दिने तथा लकडाउनको समयमा भएका चार्टर्ड फ्लाइटका नाममा उनको कार्यकालमा भएका अनियमितताको पनि हाल छानबिन भइरहेका छन् ।

गोकुल बाँस्कोटाविरुद्धको छानबिन भने पूरा भएपनि तामेलीमा राख्न लागिएको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी ठेक्कामा कमिसनको मोलतोल गरेको भिडियोका आधारमा उनीमाथि आयोगले छानबिन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्