Logo
Logo

राष्ट्रियसभा सदस्यको मतदान सुरु



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको हो । सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा मतदान सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् । सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।

यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् । प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा तोकिएको छ ।

आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादी का चार, नेकपा माओवादी केन्द्र का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्