Logo
Logo

हामीले सोँचेको दिशामा सम्भव छ परिवर्तन



विश्व विख्यात बौद्ध गुरु टिक न्याट् हान् ९५ वर्षको उमेरमा भर्खरै संसारबाट विदा हुनु भयो । भियतनाम युद्धका बेला देखिएको अकल्पनीय अत्याचार, हिंसा र शक्तिसंघर्षको पागलपनले जब उहाँ शान्तिका निम्ति प्रयत्न गर्न थाल्नुभयो, त्यसबेलाका दक्षिण भियतनामी र अमेरिकीहरूले उहाँलाई ‘कम्युनिष्ट समर्थक’ भनेर खेदो खने । लामो समयसम्म उहाँ निर्वासित रहनुभयो ।

युद्धको अन्त्यपछि पनि कम्युनिष्ट सरकारले नै लामो समयसम्म देश फर्किन दिएन । उहाँले अन्तिम सास आफू जन्मिएको भियतनामकै धरतीबाट छोडे पनि उहाँ अन्ततः भियतनामको मात्र हैन विश्वकै गुरु बन्नुभयो र मानवजगतका निम्ति अतुलनीय शिक्षा छोडेर जानुभयो ।

सामान्य लाग्ने उहाँका वचनभित्र कालजयी मार्गदर्शन छन्, मानवजातीका निम्ति ! उहाँ भन्नुहुन्थ्यो– समाजमा भएका खराबी, अन्याय, अत्याचार, दुःख देख्दा हामी ‘केही गरूँ’ भन्ने गर्छौं, ‘के गरौँ होला ?’ भनी सोध्छौँ । तर ‘म आफू के हुँदा, कस्तो हुँदा यो अन्याय, अत्याचार, दुःखलाई कम वा निर्मूल गर्ने काममा उपयोगि हुन सक्छु ?’ भनी सोँच्दैनौँ । सधैँ ‘गर्न’मात्र खोज्छौँ, ‘बन्न’ चाहन्नौँ’ ।

आफूभित्रको उज्यालो, सकारात्मकता, सम्भाव्यता, क्षमताको वृद्धि र सदुपयोगमा भन्दा अरुका कमजोरी, नकारात्मकता, अन्धकार पक्षलाई कोट्याउने, आलोचना र विरोध गर्ने कुरामा हामी बढी लाग्छौँ ।

आफैप्रति इमान्दार भएर आफ्ना अनुभवलाई पनि गहिरोसँग नियालेर हेर्ने हो भने हामी देख्नेछौँ– आफूले मनमा लेखेका आदर्शका मन्त्रप्रति समर्पित भएर आफुले कोरेको आदर्श व्यक्तिको चित्रजस्तो ‘बन्न’ प्रयत्न गर्दै जब–जब हामीले यत्न गर्यौँ, हामीले सोँचेको दिशामा परिवर्तन पनि हुन्छ ।

टिक् न्याट् हानभन्दा आधा शताब्दीपछि नेपालमै जन्मेका अर्का विश्वविख्यात बौद्ध गुरु मिङ्गयुर रिन्पोछे भन्नुहुन्छ–संसारलाई बदल्न चाहने तर आफैँ भने बदलिन नचाहने मान्छे जतिसुकै राम्रो आशय भए पनि अन्ततः तानाशाह बन्छन् ।

यी सम्मानित बौद्ध गुरुहरू मात्र हैन, विभिन्न दर्शन प्रणाली र परम्पराका अनुयायी विद्वानहरूले बारम्बार भन्दै आएका छन्– आफू बदलिन नचाहने तर अरु भने आफूले चाहे जस्तै भइदिउन् भन्ने चाहनाले विभिन्न तहमा असन्तुलन, पाखण्ड, दुष्टता जस्ता खराबीलाई जन्माईरहेको हुन्छ, हुर्काइरहेको हुन्छ ।

हामी नेपालीले त यी गुरुका भनाईमा रहेको सत्यतालाई प्रत्यक्ष नै देखिरहेकै छौँ, भोगिरहेकै छौँ ।

विभिन्न राजनीतिक धारमा रहेर लोकतन्त्र र सामाजिक न्यायका निम्ति लागिपरेका, कुनै बेला आँखामा राखे पनि नबिझाउने त्यागी, तपस्वी जस्ता लाग्ने मान्छे सत्ता र शक्तिको आकर्षणमा फँस्न थालेपछि आफैँ बदलिने भन्ने कुरा बिर्सेर ‘संसार बदल्ने’ नाउँमा अरुप्रतिको द्वेष अनि सत्ता, शक्ति र धनप्रतिको रागमा चुर्लुम्म डुबेर कसरी अर्कै भए – हाम्रो आँखा अघि छर्लङ्गै छ । र अहिले पनि अरूमा मात्र दोष खोज्ने र चर्का कुरा गर्ने तर आफैँ भने बदलिन नचाहने मानिसहरूका पाखण्ड पनि हामी देखिरहेकैछौँ ।

डरलाग्दो कुरा त के भने यो प्रवृत्ति सामाजिक रोगकै रूपमा विकसित भइरहेको छ– सामाजिक सञ्जालमा पोखिने आक्रोश, गालीगलौज र उत्तरदायित्व विहीनताले यहीँ तथ्य देखाइरहेको छ ।

सन् २०२२ को यो वर्ष लागेदेखि फेरि यो स्तम्भमा फर्किएकी म अझै पनि आफ्नै पुस्तामा केन्द्रित भएकी छु । यसपालि पनि आफैसँग सोध्दैछु– टिक् न्याट् हान् गुरुले भने झैँ ‘गर्ने’मा भन्दा ‘बन्ने’मा यत्न गर्न अर्थात् आफू समाजका निम्ति अझ उपयोगी, अझ जिम्मेवार, सिर्जनशील, करुणा र मैत्रीको साधक बन्न साठीको दशक पनि पार गर्न लागेका हाम्रा निम्ति कति सम्भव र आवश्यक छ ?

उहाँ आफैँ त साठी नाघेका बेला अत्यन्तै सक्रियताका साथ काम गर्दै हुनुहुन्थ्यो र आफ्नै उदाहरणबाट देखाइदिनु भएको थियो, यो उमेरमा कति धेरै सत्कार्य गर्न सकिन्छ भन्ने कुरा ।

आफ्ना क्लेशका बोक्रालाई छोडाएर आफूभित्रको प्रकाशलाई देख्न सक्ने हो भने, त्यो आन्तरिक प्रकाशसम्म पुग्नसक्ने हो भने, हामीले पनि केही न केही त पक्कै गर्न सकौँला । तर फेरि पनि आउने प्रश्न हो– आफ्ना अनुभव र भोगाई बोक्दै समयको यो खण्डमा आइपुगेका, यो उमेरका हामीले यो बेलाको देश र समाजको यथार्थमा के गर्नुपर्छ ? हाम्रा अनुभव र ज्ञानले हामीलाई के क्षमता दिएका छन् ? अहिले प्राप्त प्रविधिको विकासले के सुविधा दिएको छ ? मानिसमा विकसित हुँदै गएको प्रवृत्तिले के कस्ता चुनौती खडा गरिदिएका छन् ? हामी आफैँ अहिलेभन्दा असल र समाजका लागि बढी उपयोगी ‘बन्न’ सक्छौँ त ?

आफैप्रति इमान्दार भएर आफ्ना अनुभवलाई पनि गहिरोसँग नियालेर हेर्ने हो भने हामी देख्नेछौँ– आफूले मनमा लेखेका आदर्शका मन्त्रप्रति समर्पित भएर आफुले कोरेको आदर्श व्यक्तिको चित्रजस्तो ‘बन्न’ प्रयत्न गर्दै जब–जब हामीले यत्न गर्यौँ, हामीले सोँचेको दिशामा परिवर्तन पनि हुन्छ ।

कुनै न कुनै रूपमा त्यो आदर्शको प्रकाश तरङ्गित भएर वरीपरीका मानिससम्म पुग्यो र त्यसले परिवर्तन ल्यायो । जतिजतिबेला आफै बदलिनुको सट्टा अरूलाई बदल्न केही ‘गर्न’ खोज्यौँ, सोँचेको परिवर्तन शायद भएन ।

जब–जब समाजलाई आफू बाहिरको ‘परिस्थिति’का रूपमा मात्र हेर्यौँ र आफूलाई चाहि केन्द्रमा राखेर ‘मेरो चाहना वा मेरो विश्वासका निम्ति समाज बदलिनु पर्छ’ भन्ने ठान्यौँ, वा ‘आफू त जे छू ठीकै छु, समाज चाहिँ बदल्न केही गर्नुपर्याे’ भन्ने ठानेर केही ‘गर्न’ खोज्यौँ, कुनै न कुनै रूपमा विवाद, असफलता, द्वेष, असमझदारी सृजना भएको छ ।

गहिरोसँग एकचोटी नियालेर हेर्यौँ आफ्नै अतीतको अनुभव र भोगाईलाई भने यो कुरामा पक्कै पनि सत्यता भेटिने छ । यतिमात्र पनि सानोतिनो अनुभव हैन, सानोतिनो सिकाई हैन ।

सिक्नैका निम्ति असंख्य कुरा छन्, हाम्रा निम्ति । र सिक्नु भनेको बदलिनु हो, ‘हुनु’ हो । नयाँ पुस्तासँगै सार्थक संवादका निम्ति पनि हामी आफू बदलिनु आवश्यक छ । आफ्नो विगतले पर्खाल लगाएको साँघुरोपनबाट मुक्त हुन आवश्यक छ ।

समाज निरन्तर बदलिँदै छ । र यो परिवर्तनले नयाँ चुनौतिसँगै प्रशस्त नयाँ अवसर पनि जुराईदिएकोक छ । नयाँ पुस्तासँग बराबरीकको हैसियतमा संवाद हुने वातावरण सृजना भएको छ । प्रविधिले संसारभरीका ज्ञानमा पहूँच पुगेको छ ।

कुनै बेला कुनै गुरुलाई भेट्न वर्षौँ पर्खनुपथ्र्यो, हजारौँ कोसको यात्रा गर्नुपथ्र्यो, अहिले हातैमा समातेको सानो मोबाइलको भरमा गुरुहरुलाई बोलाउन सक्छौँ । संवाद गर्न सक्छौँ । यो अवसरको सही उपयोग गर्दै, जगत् र आफूबीचको कृत्रिम पर्खाल भत्काउँदै, आफू बदलिन सक्यौँ भने मात्र बल्ल साँच्चै देश र समाजका लागि केही गर्नु सकिन्छ । अनि ‘कसको निम्ति’ भन्ने प्रश्न पनि गौण बन्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्