विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा भेटिएका दुई शव अन्यत्र हत्यापछि उखुबारीमा ल्याएर गाडिएको प्रहरीले निष्कर्ष निकालेको छ । उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार र बिहीबार दुई जनाको शव प्रहरीले निकालेको थियो ।

दुवै शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको तथा हात बाँधिएको अवस्थामा खाडलभित्र शव भेटिएकोले उनीहरुको अन्यत्र हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दुवै शवको प्रकृति हेर्दा घटनास्थल उखुबारी आसपासमा क्षेत्र नदेखिएको बताए । उनका अनुसार दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै थियो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दुवै शवको हत्या एक हप्ता अघिपछि गरिएको देखिएको छ । रंगेली–विराटनगर सडकको रामचोक खण्डको दक्षिणमा पर्ने कमलपुर र हनुमान चोकको बीचमा रहेको उखुबारीमा शव फेला परेको थियो ।
उखुबारीमा शंकास्पद खाडल देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बुधबार एउटा खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला फेला पारेको थियो । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । शव भेटिएको स्थानबाट करिब ३० मिटरमा अर्को खाल्डो फेला पारिएको थियो, जहाँ कपडा र कपाल थियो ।
बिहीबार खाल्डो उत्खननपछि निकालिएकोे शव भने धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
उनका अनुसार शवको साथमा भेटिएको कागजातबाट पहिचान खुलेको हो । मृतक श्रेष्ठ जग्गा कारोबारी भएको बताइएको छ । धरान घर भएपनि उनी भक्तपुरमा बस्दै आएका थिए ।
घरबाट गत मङ्सिर ४ मा काठमाडौबाट पूर्व आएपछि उनी सम्पर्कविहीन भएको परिवारले बताएको छ । प्रहरीले ट्र्याकर डग (तालिमप्राप्त कुकुर)को परिचालन गरी घटनाको अनुसन्धान गरिरहेको छ । दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।











