
धनगढी । सुदूरपश्चिम प्रदेशका २ तिहाई बालबालिकामा कुपोषणको समस्या रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७७÷७८ मा सार्वजनिक गरेको प्रदेश स्वास्थ्य प्रतिवेदनमा प्रदेशका बालबालिकाहरुमा पुड्कोपना, ख्याउटेपना, कम तौल, जन्मिँदै कम तौल तथा पूर्ण स्तनपान नगराउने समस्या रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका पाँच वर्ष मुनिका बालबालिकामध्ये ४०.९ प्रतिशतमा पुड्कोपना, १४.१ प्रतिशतमा ख्याउटेपना देखिन्छ । यस्तै प्रदेशमा ५ वर्ष मुनि कम तौल भएका बालबालिका ३३.३ प्रतिशत र जन्मिँदै कम तौल भएका बालबालिका २० प्रतिशत रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको कुपोषणको समस्या समाधानको लागि प्रदेश सरकार सधै अगाडि रहेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए ।
शुक्रबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले नीति तथा कार्ययोजना कार्यान्वयन गर्ने तहमा पुग्न नसकेको बताए ।
उनले तिनै तहका सरकारबीच समन्वयको अभाव रहेको बताए । स्वास्थ्य क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन प्रदेश सरकारले ४० प्रतिशत बजेट सोही क्षेत्रमा विनियोजन गरेको र स्वास्थ्य कार्यालयलाई बलियो बनाउनुपर्ने मन्त्री खड्काले बताए ।
सोही कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण प्रमुख लिला विक्रम थापाले विगतको भन्दा पोषणको अवस्थामा सुधार आएको र महिला, बालबालिका, गर्भवती, सुत्केरी महिलाको अवस्थामा सुधार ल्याउनेबारे तिनै सरकारबीचको समन्वय सहकार्य बढाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य निर्देशनाालयले प्रदेशको पोषणको अवस्था सुधारको लागि स्वास्थ्य कार्यालय प्रमुखहरुसँग १८ बुँदे प्रतिवद्धता समेत गरेको छ । सुदूरपश्चिम प्रदेशमा पोषणको क्षेत्रमा कार्यक्रम तथा नयाँ गतिविधि बढाउनुपर्ने स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले बताए ।














