Logo
Logo

माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने



विराटनगर । देशका सात प्रदेशमध्ये अहिलेसम्म प्रदेश १ को नामांकन हुन सकेको छैन । हालै प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुर कायम भएसँगै प्रदेश १ को नामको विषयमा बहस र छलफल सुरु भएको छ ।

केही समययता प्रदेश १ को नाम ‘किरात प्रदेश’ रहनुपर्ने चर्चा चल्दै आएको छ । तर, राजनीतिक दलहरुबीच यी नामबारे सहमत हुन सकेका छैनन् । यसैक्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ ।

प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा किरात प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।

‘किरात’ नाममाथि कुनैपनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘किरात–कोशी’ वा ‘कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ले बताए ।

माओवादी केन्द्रले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् । तर, यी चारवटै नामलाई सम्बोधन हुनेगरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ ।

प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट रहेका हुन् । तीमध्ये ‘सगरमाथा प्रदेश’को बारेमा पनि चर्चा हुन थालेको छ । ‘किरात प्रदेश’मा सहमति हुन नसकेमा प्रदेश सरकारले ‘सगरमाथा प्रदेश’को प्रस्ताव अगाडि सार्न सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्