Logo
Logo

प्रदेश १ मा थपिए आठ मन्त्री, आजै सपथ लिँदै



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । आजै नवनियुक्त आठ मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

पाँच दलीय गठबन्धन भित्रको नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौला निकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नाम रहेको छ । नेकपा एकीकृत समाजवादीबाट पनि ३ जना मन्त्री बन्ने भएका छन् ।

यस्तै, खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि एक मन्त्रालय थप गरिएको छ । १६ कात्तिकमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार गठन भएको थियो ।

अहिले एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् छ । अहिलेसम्म काँग्रेसले दुई, माओवादी र जसपाले एक एक मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एक राज्यमन्त्री दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्