काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको बताएका छन् ।
निवास खुमलटारमा सोमबार कांग्रेस र नेकपा एमालेका दुई दर्जन नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको पनि बताए । उनीहरुलाई अध्यक्ष प्रचण्डले निवास खुमलटारमा एक कार्यक्रमकाबीच अविर र खादा लगाई पार्टीमा स्वागत गराएका छन् ।
प्रवेश गर्नेहरुमा नेकपा एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू सहितका नेता तथा कार्यकर्ता छन् ।
त्यसैगरी सुदुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेका छन् ।














