Logo
Logo

सिमसारका नाममा मेयरले एक करोड पचाए



झापा । स्थानीय तहका जनप्रतिनिधिले विकास बजेट कसरी दुरुपयोग गर्दछन् भन्ने दृष्टान्त शिवसतासी नगरपालिकाको डुडामारी सिमसारलाई लिन सकिन्छ । सिमसार नै नबनाई शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले १ करोड ७० लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी गरिसकेका छन् ।

शिवसतासी नगरबासीले डुडामारीको वनभित्र सिमसार बनाउने कार्यको बिरोध गरे पनि मेयर शेर्माले त्यसलाई बेवास्ता गर्दै सिमसार बनाउन सुरु गरेका थिए । तर, सिमसार नै नबनाई नगरपालिकाले १ करोड ७० लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी गरिसकेको छ । वनको अनुमति विना सिमसार बनाउन सुरु गरेका मेयरले सिमसार नै नबनाई १ करोड ७० लाख खर्च गरेको गुनासो स्थानीयको छ ।

समाचार स्रोतका अनुसार, वनको अनुमति विना नै सिमसार नबनाउन गरेको आग्रहलाई अटेर गरी शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले २ करोड बजेट छुट्याएका थिए । रतुवामाई वन बृक्षारोपण आयोजना(साविक सागरनाथ वन परियोजना)सँग अनुमति नै नलिई मेयर शेर्माले सिमसार (जलकुण्ड) निर्माण गरेको आरोप छ । अनुमति नलिई सिमसार नबनाउन वन कार्यालयले लेखेको पत्रलाई समेत अटेर गरी निर्माण सुरु गरेपछि वनले निर्माण रोकेको छ । वनसँग अनुमति नलिई गरिएको संरचना पनि अब उपयोगविहीन हुने भएको छ । मेयरले बलमिच्याई गरी निर्माण गर्न सुरु गरेपछि वनले पत्र लेखेरै रोकेको छ ।

आर्थिक बर्ष २०७५–०७६ र ०७६–०७७ को बजेट डुडामारी सिमसार निर्माणका लागि छुट्याइएको थियो । सिमसार बनाउने भनेर १ करोड ३० लाख तारबार, कल्भर्ट र २–४ टीफर माटो हालेर सेल्फी खिच्ने ठाउँ बनाउने काम मात्र भएको छ । बढीमा ४० देखि ५० लाख सम्म खर्च भए पनि १ करोड ७० लाख भुक्तानी गरिएको छ । १ करोड भन्दा बढी मेयर शेर्माले अनियमितता गरेको आरोप लागेको छ ।

समाचार स्रोतका अनुसार, १ करोड ७० लाख बजेटबाट अरु उपलब्धीमूलक विकासका काम गर्न सकिन्थ्यो, तर मेयरको लहडले सिमसार पनि बन्न सकेन, बजेट पनि सकियो, बजेट दुरुपयोग गर्नेमाथि कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अख्तियारले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको छ ।

शिवसतासी नगरपालिकामा एमालेबाट मेयरका संभावित उम्मेदवार धनबहादुर थेवेले डुडामारी सिमसार निर्माण हतारमा सुरु गरिएको बताए । उनले भने–‘डीपीआर लगायतका अनुमतिका प्रक्रिया पूरा गरेर मात्र बजेट हाल्नुपर्ने थियो । तर अनुमति नै नलिई हतारमा निर्माण सुरु गरियो । वन विभागले इजाजत रोक्यो । २ करोड विनियोजन भएकोमा १ करोड ७० लाख रुपैयाँ खर्च भइसकेपछि वनले सिमसार निर्माण अगाडि नबढाउन भन्यो । काम रोकियो । सिमसार निर्माणका लागि छुट्याएको ३० लाख रुपैयाँ रकमान्तर गरी अर्कै विकासको कार्यमा हालिसकिएको छ ।’

३० देखि ५० लाख मात्र खर्च गरी बाँकी रकम अनियमितता गरेकोबारेमा थेबेले भने–घेराबार गरिएको छ । वाल कम्पाउन्ड लगाइएको छ । कल्भर्ट बनाइएको छ । खर्च त भयो होला । अनियमितता भएको कुरा मलाई थाहा भएन ।

मेयर चन्द्रकुमार शेर्मा

एमालेका प्रदेश १ कमिटीका सदस्य तथा शिवसतासी नगरपालिकाका मेयरका आकांक्षी राधाकृष्ण खनालले सिमसार निर्माणमा अनियमितता भएको कुरा खुलेर बताउन चाहेनन् । २ करोड बजेटमा आधी भन्दा बढी अनियमितता भएको छ भन्दा उनले भने–हल्लामात्र हो, त्यति धेरै त अनियमितता भएको छैन होला ।

वन मन्त्रालयले रतुवामाई बृक्षरोपण आयोजनालाई लिजमा दिएको क्षेत्रमा अर्कोलाई दिन नमिल्ने भनेर रोक्यो । अनुमति नलिई गर्दा यो परिस्थिति आएको हो । सिमसार निर्माणमा हतार भएकै हो, प्रक्रिया पूरा नगरेकै हो । प्रक्रिया पु¥याउनुपर्ने थियो । सिमसार नबन्दा त्यत्रो रकम खेर गयो हैन भन्दा उनले भने–प्रक्रिया नमिलेकाले गर्दा त्यस्तो भयो ।’

प्रक्रिया नपु¥याई हतारमा बजेट छुट्याएर सिमसार निर्माण गर्न सुरेकाले वनले रोकेको हो भन्ने प्रश्नमा शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले भने–‘नगरसभाले पास गरेको योजना हो । सरकारको ऐन कानुनलाई मानेर जलकुण्ड बनाउन खोजिएको हो । तर वन विभागले रोक्ने काम गरेको छ ।’

शेर्माको भनाइ छ–‘रतुवामाई वन बृक्षारोपण आयोजना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमका प्रतिनिधिसहित ३ सदस्यीय समितिले सिमसार बनाउन दिने निर्णय गरेका हु्न् । वन उपभोक्ता समितिलाई जंगलभित्र जे जस्ता संरचना बनाउन पनि दिने, मोरङको बेतना सिमसारभित्र संरचना बनाउन दिइएको छ । तर डुडामारीमा सिमसार बनाउन खोज्दा अबरोध गरिएको छ ।’ १ करोड ७० लाख रकम खर्च भएको देखाउनुभएको रहेछ, तर खर्च त ५० लाख भन्दा नभएको कुरा पनि आएको छ नि भन्ने प्रश्नमा उनले भने–यो फेसबुकेहरुले फैलाएको हल्ला हो । उनले भने–डुडामारीमा जलकुण्ड बनाउने, त्यो जलकुण्डमा गाईबस्तु नपसून्, प्रदूषित नगरुन् भनेर तारबार गरिएको छ । कल्भर्ट बनाइएको छ । फोटो खिच्ने सेल्फी पइन्ट बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्