Logo
Logo

प्रहरीमा बालुवाटारको हस्तक्षेप



काठमाडौं । गम्भीर किमिसका गल्तीमा संलग्न प्रहरीका हाकिमहरू कारबाहीबाट जोगिन थालेका छन् । सरकार र प्रहरी नेतृत्व कमजोर हुँदा प्रहरीमा अनियमितता गर्नेहरूको हौसला बढ्न थालेको छ ।

चेन अफ कमाण्ड नमान्नेदेखि आर्थिक लेनदेनमा संलग्न प्रहरीमाथिको कारबाही गृह मन्त्रालयको दबाबमा रोकिएको छ । छानबिनमा परेका एसपीदेखि एआइजीसम्मका अधिकारीलाई गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले कारबाही गर्न सकेको छैन ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआइजी हरिबहादुर पालले तीन भारतीयलाई विमानस्थलमा पक्राउ गरी गोप्य रुपमा भारतलाई लगेर बुझाएका थिए । त्यस विषयमा सरकारलाई जानकारी दिइएन । पछि गृहमन्त्री बालकृष्ण खाणले थाहा पाएपछि छानबिन गर्न लगाए । प्रहरी प्रधान कार्यालयले छानबिन गरेर प्रतिवेदन पनि दिइसकेको छ । तर, बालुवाटारको दबाब भन्दै गृहमन्त्रीले यति गम्भीर विषयमा कारबाही गर्न सकेका छैनन् । एआइजीलाई तर्साउने र फाइदा लिने काम मात्र भएको चर्चा गृहमा छ ।

त्यस्तै, जुवामा बरामद भएको चेकलाई मुद्दा नचलाएको विषयमा एसएसपी अशोक सिंहमाथि भइरहेको छानबिन पनि रोक्ने प्रयास भइरहेको छ । बरामद चेक आफैंले राखेर चेकको पैसा तिर्न अर्का जुवाडेलाई दबाब दिएको तर मुद्दा नचलाएको खुलेपछि सिंह विवादमा तानिएका थिए । डिआइजी राजेशलाल कर्ण नेतृत्वमा छानबिन भएपनि त्यसलाई रोक्ने प्रयास भइरहेको छ ।

त्यस्तै, लागु औषध मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको घटनामा मुछिएका एसपी प्रकाश रानाभाटलाई पनि सचेत गराएर जोगाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा उनले आर्थिक चलखेलका आधारमा एक अभियुक्त जोगाएका थिए । त्यसमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै हालै उन्मुक्ति दिइएको छ । जबकी तत्कालै उनलाई धनुषाबाट हटाइएको थियो ।

त्यस्तै, छानबिनमा तानिएका एसपीहरू सिद्धिबिक्रम शाह, ओमबहादुर राना, श्यामकृष्ण अधिकारीमाथि पनि कारबाही हुन सकेको छैन । त्यसो त जिल्ला इन्चार्जमा पनि बदनामहरूले मात्र अवसर पाउन थालेका छन् । आइतबार सात जिल्लाका इन्चार्ज फेरिएकोमा पाँच जना विगतमा कारबाही भोगेकाहरू छन् ।

बाग्लुङमा दयानिधि ज्ञवालीलाई पठाइएको छ । उनी यसअघि घुसकाण्डमा परेका थिए । त्यस्तै बाग्लुङबाट गत वर्ष कारबाही स्वरुप हटाइएका शारदा चौधरीलाई डोटी पठाइएको छ । गोरखा पठाइएका एसपी केदार खनाल पनि पटक पटक कारबाहीमा परेका थिए । कीर्तिपुर वृत्तको डिएसपी हुँदा कार्यालयमै मदिरा पिएको खुलेपछि तत्कालिन एसएसपी रमेश खरेलले उनलाई पक्राउ गरेर थुनेका थिए ।

धनकुटा पठाइएका लक्ष्मीराज अधिकारी कार्यक्षमतामा कमजोर मानिन्छन् । सिन्धुली पठाइएका विमलराज कँडेल पनि पटक पटक कारबाही भोगेका अधिकृत हुन् । स्याङजामा हुँदा चार महिनामै हटाइएका थिए । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीमा कांग्रेस निकट भनेर चिनिएका रबिन्द्र रेग्मीलाई पठाइएको छ । एसपी मनोज केसीलाई एक वर्ष अवधि नपुगी हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्