
काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार उक्त प्रणालीका कारण अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
आज (बिहीबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको भनाई छ । देशको सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।











