Logo
Logo

एमसीसी पारित गर्ने निर्णयमा माओवादीका पाँच नेता असहमत


7.1k
Shares

काठमाडौं । पछिल्लो समय नेकपा माओवादी केन्द्र एमसीसी स्वीकार्न सहमत बनेपनि पार्टीकै ५ नेताले भने असहमति जनाएका छन् ।

यथास्थितिमा एमसीसी स्वीकार गर्न नसकिने अडान राख्दै आएको सो पार्टीले हाल स्वीकार गर्ने निर्णय गरेको छ । तर, उक्त निर्णयप्रति पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल असहमत भएका हुन् ।

आइतबार बिहान बसेको पार्टी पूर्वस्थायी समितिको बैठकले एमसीसीमा भएका राष्ट्रिय हितविपरीतका प्रावधान परिमार्जन र संशोधनसहित पारित गर्न सकिने निर्णय गरेको छ । यसलाई बीचको बाटोबाट अघि बढ्न खोजेको अध्यक्ष प्रचण्डको तर्क छ । अध्यक्षले एमसीसीका सन्दर्भमा मध्यमार्गी बाटो रोजेको आफूले बुझेको ती नेताको भनाइ छ ।

पार्टी निर्णयको विपक्षमा उभिएका ती नेताहरुको अहिले छुट्टै छलफल चलिरहेको छलफलमा सहभागी एक नेताले बताए । अध्यक्षको प्रस्तावलाई अस्वीकार गरेका पार्टीका पाँचजना नेताहरु छलफलमा जुटेका हुन् । आजको बैठकमा गणेश साह भने सहभागी थिएनन् ।

यसअघि बसेको पार्टी पूर्वस्थायी समिति बैठकले संशोधन र परिमार्जन नगरी एमसीसी अगाडि बढाउन नसकिने अडान दोहोर्याउँदै आएको थियो ।

सत्ता गठबन्धन नै धरमरमा परेपछि प्रचण्डले बीचको बाटो अपनाएर भएपनि एमसीसी पास गरेर अघि बढ्ने प्रस्ताव अघि सारेका हुन् । तर, यसमा पार्टीका पाँच नेताले आफ्नै अध्यक्षको प्रस्तावमा विमति जनाउँदै उक्त प्रस्ताव स्वीकार गर्न नसकिने अडान लिएका छन् ।

पार्टी निर्णय, यसअघिको पूर्वस्थायी समितिको बैठकको निर्णयविपरीत निर्णय गर्नु ठीक नभएको भन्दै अर्का नेता भन्छन्, ‘जनता एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् ।’

पार्टी निर्णयविपरीत उभिएका यी पाँच नेता संसद् बैठकमा कसरी प्रस्तुत हुन्छन् र कस्तो निर्णय लिन्छन् भन्ने चासोको विषय बनेको छ । त्यस विषयमा उनीहरु अहिले खुलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्