काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी ‘कुकर बम’ फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।
साथै, आज बन्दका कारण विभिन्न स्थानमा गाडी तोडफोड भएको छ ।
सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै बन्दकर्ताले काठमाडौंको सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।











