काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।
एमसीसी संसदबाट पारित गराउन षड्यन्त्र, जालझेल र तिकडम गरेको भन्दै पाँच दलीय गठबन्धनलाई कायम राख्न राखिरहनु पर्ने औचित्य समाप्त भएको जनमोर्चाले जनाएका छ ।
बैठकपछि जनमोर्चाले भने, ‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आ कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध भत्सर्ना गरेको छ ।
केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पु¥याउने जिकिर गरे । एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको उनको भनाइ छ ।
‘यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्कील पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ’, उनले भने, ‘सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौँ ।’











