Logo
Logo

हटाइए सिस्नेका १७२ घरका खरका छाना


1.2k
Shares

फाइल फोटो

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् ।

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो । कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव २०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए । चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

चालु आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले जनाएको छ । खरको छाना हटाइ टिनको छाना हाल्नका लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाँकी छन् । उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन् । उनीहरूलाई पनि भुक्तानीका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

उनका अनुसार गाउँपालिकाभरबाट टिनको छानाका लागि भनेर ५८३ वटा निवेदन परेका थिए । त्यसमध्येमा छनोटमा ३०९ घर परेका थिए भने सम्झौता २५९ घरपरिवारको भएको थियो । यसमा १ नं. वडामा २५ घर, २ नं. वडामा ४१ घर, ३ नं. वडामा २० घर, ४ नं वडाका ४६ घरले छानो फेर्नका लागि सम्झौता गरेका थिए । यस्तै ५ नं वडाका ३९, ६ नं वडाका ४०, ७ नं. वडाका २७ र ८ नं. वडाका २१ घरपरिवारले सम्झौता गरेका थिए ।

अन्य वडाका नागरिक टिनको छानो फेरेर भुक्तानीका लागि आए पनि १ नं. वडाका नागरिक एकजना पनि नआएको गाउँपालिकाले जनाएको छ । भौगोलिक हिसाबले विकट, सडक नपुगेको ठाउँ सिस्ने–१ वासीलाई आउन जान तथा टिन ढुवानीको रु. ५० हजारभन्दा धेरै खर्च हुने हुँदा मानिस नआएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । छनोटमा परेका विपन्न परिवारले पहिले आफ्नै लगानीमा टिनको छाना हालेपछि प्राविधिकको अनुगमनपश्चात रु. ५० हजार भुक्तानी दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्