काठमाडौं । इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी)को सचिवालयले शनिवार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले आफ्नो धारणा स्पष्ट पारेको हो ।

परिषद्ले हवाई प्रतिबन्धको जवाफमा इरानले सैन्य कारबाही गर्ने भन्ने दाबी सही नभएको जनाएको छ । साथै, आफूले अनुचित ठानेका केही हवाई प्रतिबन्ध हटाउन सम्बन्धित देशहरूसँग गम्भीर र निरन्तर संवाद भइरहेको जानकारी दिएको छ ।
परिषद्का अनुसार, प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्ने पक्षसँग सम्बन्धित विषयमा आवश्यक परे गैरसैन्य माध्यमबाट प्रतिक्रिया जनाउने विकल्पहरू पनि उपलब्ध छन् । यद्यपि, त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने इरानको अपेक्षा रहेको परिषद्ले जनाएको छ ।
यसअघि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधवारदेखि विश्वभरका इरानी एयरलाइन्सलाई बन्द गराउने बताएका थिए । उनले इरानी विमानलाई इन्धन, अवतरणसम्बन्धी सेवा वा टिकट बिक्रीलगायतका सेवा उपलब्ध गराउने कम्पनीमाथि समेत अमेरिकी प्रतिबन्ध लागू हुन सक्ने बताएका थिए ।
अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा आएपछि बुधवार इरानको सरकारी टेलिभिजन आईआरआईबीसँग कुरा गर्दै रेजाईले विशेषगरी इरानका छिमेकी देशहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयनमा सहभागी नहुन आग्रह गरेका थिए ।
इरानी पक्षले पछिल्लो स्पष्टोक्तिमार्फत हवाई प्रतिबन्धको विषयमा सम्बन्धित देशहरूसँग संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ ।














