Logo
Logo

एसएसपीहरूमाथि प्रधान कार्यालयले थाल्यो छानबिन



काठमाडौं । नेपाल प्रहरी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपीहरू कमाउ धन्दामा लागेपछि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । प्रहरी जवानको भर्नामा चलखेल गरेको भेटिएपछि छानबिन सुरु भएको समाचार छ ।

कुनै तालिम केन्द्रमा अत्याधिक पास हुने तर, कुनै केन्द्रमा थोरै मात्र पास भएपछि चलखेल प्रष्ट भएको हो । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरीक तन्दुरुस्तीको परीक्षामा यस्तो बेथिति देखिएपछि प्रहरी भर्नामा हुने अनियमितता प्रष्ट भएको छ ।

कुनै तालिम केन्द्रमा ६५ प्रतिशतसम्म प्रारम्भिक परीक्षामा उत्तीर्ण हुँदा कतै ३० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । धेरै उत्तीर्ण गराउने तालिम केन्द्रका एसएसपीमाथि छानबिन थालिएको स्रोत बताउँछ । पोखरा, दिपायल र बुटवल तालिम केन्द्रका एसएसपीले धेरै उत्तीर्ण गराएका हुन् ।

पोखरामा दिल्लीराज पन्त, दिपायलमा अर्जुन चन्द ठकुरी, बुटवलमा सुरेन्द्र मैनाली समादेशक छन् । दुधौली, नेपालगञ्ज र काठमाडौंमा भने उत्रीर्ण हुने प्रतिशत मध्यम छ । दुधौलीमा मोहन पोख्रेल, नेपालगञ्जमा चक्रबहादुर सिंह कार्यरत छन् ।

जनकपुर र विराटनगरका एसएसपीले पनि उत्कृष्टलाई मात्र भर्ना गर्ने प्रयास गरेका छन् । जनकपुरमा रविन्द्र केसी तथा विराटनगरमा मिरा चौधरी समादेशक छन् । प्रारम्भिक परीक्षाको मापदण्ड प्रष्ट नहुँदा पनि चलखेल गर्ने ठाउँ दिएको छ । कतिपय तालिम केन्द्रमा भने त्यही नाममा आर्थिक चलखेलसमेत भएको स्रोत बताउँछ । केहीले भने नेतालाई खुसी बनाउन उनीहरूको सिफारिसअनुसार धेरैलाई पास गराइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्