Logo
Logo

बालुवाटारमा एआइजीको १५ लाख घुस



काठमाडौं । पाँचौँपटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी पारित गरेर गठबन्धन जोगाउने रणनीति सफल पारेका छन् । देउवाले फेरि एकपटक आफू परिपक्क नेता भएको पहिचान विदेशीसामु बनाएका छन् । कम बोल्ने तथा राजनीतिक कुटिलतामा निकै चतुर भएकै कारण देउवा पटक–पटक सरकारको नेतृत्वमा पुग्न सफल भएका हुन् ।

देउवालाई यसरी राजनीतिमा सफल बनाउन उनका सहयोगीहरूको पनि ठूलो भूमिका छ । त्यसमध्ये एक हुन् उनका स्वकीयसचिव भानु देउवा । नाताको व्यक्ति भएर मात्र होइन, क्षमताकै आधारमा देउवाले भानुलाई सबैभन्दा धेरै विश्वास गरेर आफ्ना काममा खटाउँदै आएका छन् ।

उनै भानुले हालै १५ लाख रुपैयाँ घुस अस्वीकार गरेको विषय यतिबेला बालुवाटारमा चर्चाको विषय बनेको छ । स्रोतका अनुसार सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेलले भानुलाई सो रकमको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार आइजिपी बनाउन सहयोग गरिदिन आग्रह गर्दै एआइजी पौडेल १५ लाख लिएर बालुवाटार गएका थिए । तर, उनले भानुलाई भेटेनन् । उनलाई नभेटेपछि श्रीमतीलाई त्यो रकम बुझाउन खोजे । ‘तर यस्तो केही पनि नलिनु भन्नु भएको छ’ भन्दै उनेले पैसा अस्वीकार गरेकी हुन् । त्यसपछि भानुले एआइजी पौडेललाई हप्काएको बालुवाटार स्रोत बताउँछ । त्यस विषयमा प्रधानमन्त्री देउवालाई समेत उनले जानकारी गराएको बताइन्छ ।

सशस्त्र प्रहरीमा आगामी २८ चैतमा महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउँदैछन् । त्यसपछि तीन साताका लागि अहिलेका दुई एआइजीमध्ये एक आईजिपी हुनेछन् । त्यसमा पहिलो नम्बरमा पुष्पराम केसी छन् भने दोस्रो नम्बरमा पौडेल । दुवै जना यतिबेला शक्तिकेन्द्र धाइरहेका छन् । पौडेलले भने त्यसरी पैसा बाड्दै हिडेका कारण उनको छविमा दाग लागेको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा गृहमन्त्रीका सहयोगीहरूलाई उनले आर्थिक प्रभावमा पार्न थालेका हुन् । यसरी आइजिपी बन्नका लागि भन्दै मातहतमा पनि उनले पैसा उठाउने गरेको रिपोर्ट बालुवाटारमा पुगेको छ । अहिलेका महानिरीक्षक शैलेन्द्र खनाललाई नै हटाएर आइजिपी हुने प्रयासमा लागेका केसी पनि तीन हप्ते आइजिपीका लागि दौडधुपमै छन् । सशस्त्र प्रहरीमा अहिलेसम्म १ नम्बरकै एआइजीलाई आइजिपी बनाएको इतिहास छ । त्यसकारण जति खर्च गरे पनि पौडेललाई आइजिपी हुन भने सहज अवस्था भने देखिँदैन ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

श्रीमान् सम्पादकज्यू,
दृष्टि साप्ताहिक ।

विषयः खण्डन प्रकाशित गरिदिनु हुन ।

तपाईंको सम्पादकत्वमा रहेको दृष्टि साप्ताहिक पत्रिकामा मिति २०७८/११/१७ गते ‘बालुवाटारमा एआइजीको १५ लाख घुस’ शीर्षकमा प्रकाशित समाचारप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको नाम जोडेर आएको सो समाचार पोलकल्पित एवं व्यक्तिगत चरित्र हत्या गर्ने ढंगले आएको र समाचारमा उल्लेखित विषयमा कुनै किसिमको सत्यता नभएको हुँदा यस्ता समाचारले आम जनतामा भ्रम फैलिन सक्ने तथा संगठनलाई समेत असर गर्ने भएकोले सो समाचारको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गरिएको छ ।

प्रवक्ता
कमल प्रसाद तिउसिना
का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय

प्रतिक्रिया दिनुहोस्