Logo
Logo

गफमै बित्यो विद्यासुन्दरको कार्यकाल, फेरिएन काठमाडौं


1.6k
Shares

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले २०७४ जेठ १७ गते शपथ लिएर पदभार सम्हाल्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेका थिए ।

पाँच वर्षमा काठमाडौं दक्षिण एसियाकै नमूना शहर बन्ने दाबी विद्यासुन्दरको थियो । रेल कुदाउनेदेखि सडक चिल्लो गर्ने गर्नेसम्मका योजना अघि सारेका विद्यासुन्दरले शपथ लिएकै दिन ‘क्लिन द सिटी’ अभियानको शुभारम्भ गरेका थिए ।

तर, पाँच वर्षे अवधि पूरा गर्दै गर्दा विद्यासुन्दरको कार्यकाल गफमै जाने निश्चित भएको छ । रेलको कुरा मात्र होइन, उनले निर्वाचनका बेला जनतासामू गरेका बाचा र निर्वाचित भएपछि जनाएका प्रतिवद्धता गफमै सीमित बन्न पुगेका छन् ।

विद्यासुन्दरको कार्यकालमा काठमाडौंको वायु झनै प्रदूषित भएको छ  । उनले निर्वाचनको समयमा पदभार सम्हालेको १०० दिनभित्र १०१ काम गर्ने वाचा गरेका थिए ।

जसमा ‘काठमाडौं महानगर झिलिक्कः घर–घर टिलिक्क’, ‘सही समय सही ठाम, नो ट्राफिक जाम’, ‘नो मास्क सिटी’, ‘ग्रिन एन्ड क्लिन काठमाडौं’, ‘वाटर फल पार्क’, ‘सफा, सुन्दर, स्वच्छ र हरियाली नगर’का लोकप्रिय नारा लगाएका थिए ।

विडम्बना काठमाडौँबासीले पटक–पटक कैयौं दिन फोहोर उठ्न नसकेर दुर्गन्ध खेप्नु परेको छ । विद्यासुन्दरले काठमाडौंमा तीन वर्षमै मेट्रो र दुई वर्षमै मोनो रेल कुदाउने कुरा गरेका थिए । यस्तै, केबलकार चलाउने र स्मार्ट सिटी बनाउने गफ दिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, स्थानीय तहले स्थानीय सेवाको व्यवस्थापनदेखि विद्यालय शिक्षा, आधारभूत स्वास्थ्य, सरसफाइ, फोहोरमैला व्यवस्थापन, प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कको दस्तुर संकलन, ग्रामीण सडक, कृषि सडक र सिँचाइको काम, खानेपानी, साना जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जा सम्बन्धी योजना र कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्न सक्छ । विपद् व्यवस्थापन, वातावरण र जैविक विविधता संरक्षण, स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण एवं जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थ, भाषा, संस्कृति र ललितकलाको संरक्षण पनि स्थानीय तहले गर्नुपर्ने काम हुन् ।

संघीय राजधानीसमेत रहेको देशकै ठूलो महानगर काठमाडौंको मेयर बन्न विद्यासुन्दरको क्षमताले पुग्दैनथ्यो । यस्तो अवस्थामा उनले सक्षम व्यावसायिक टिम बनाएर परिणाममुखी काम गर्न सक्थे । तर, विद्यासुन्दरले मेयर पदलाई तलवभत्ता खानमै सीमित बनाइदिए ।

ऐतिहासिक रानीपोखरीदेखि कमलपोखरीको पुनःनिर्माणमा विद्यासुन्दर परम्परागत सीप र शैली लत्याउँदै कंक्रिट प्रयोगको पक्षमा उभिए । मेयर शाक्य र स्थानीयबासीबीच पुनःनिर्माणमा द्वन्द्ध नै भयो ।

विद्यासुन्दरको कार्यकालमा शहरको सौन्दर्यकरणका लागि सम्झनलायक कुनै काम हुन सकेन । काठमाडौं शहर तथालिंग र विरुप बन्न पुगेको छ । सार्वजनिक सम्पत्ति दोहनमा काठमाडौं महानगरपालिका मूकदर्शक बनिरह्यो ।

यस्ता थिए विद्यासुन्दरका बाचा–
–महानगरभित्रको अस्तव्यस्त यातायात समाधान गर्ने । ठाउँ–ठाउँमा केवलकार, मोनोरेल, अत्याधुनिक बससेवा, इलेक्ट्रिक स्मार्ट गाडी कुदाउने । त्यस्तै दुई वर्षभित्र डीपीआर तयार पारि मेट्रो रेन दौडाउने ।

–सफा, स्वच्छ पानी पिउने नागरिकको अधिकारको संरक्षण गर्दै मेलम्ची खानेपानी आयोजना यथाशीघ्र सम्पन्न गर्ने । त्यतिले मात्र नपुग्ने हुँदा उपत्यकाभित्रका खानेपानीहरूको स्रोतको पहिचान गर्ने ।

–उपत्यकाभित्र एकीकृत बस्ती, उपत्यकाको कला सुहाउँदो कम्प्लेक्स निर्माण ।

–आगलागी नियन्त्रणलागि फायर हाइड्रेन्ट निर्माण गर्ने । नयाँ बन्ने घरमा अनिवार्य सोलार जडान ।

–सार्वजनिक जग्गाहरू संरक्षण गरि बालउद्यान, स्मार्ट युथपार्क, फेमिली पार्क, योग पार्क बनाउने । महानगरभित्रका पोखरीको संरक्षण र स्वच्छ जलासययुक्त बनाउने ।

–मेघा हल बनाउने, महानगर सिटी प्लानिङ, भृकुटीमण्डपलाई एम्युजमेन्ट पार्क र वाटर पार्कको आकर्षणको केन्द्र बनाउने ।

–धरहरालाई भ्युटावर, काठमाडौं सहर हेर्न छुट्टै काठमाडौं फ्लायर बनाउने ।

–महानगर टेलिभिजन सञ्चालन गर्ने, फ्रि वाइफाइ जोनहरू स्थापना गर्ने ।

–महानगरबाट धुँवा, धूलो, हिलो बिस्थापन गरिने ।

–महानगरभित्रका सम्पूर्ण कार्यालयमा इगभर्नेन्स प्रणाली, महानगर स्मार्ट सिटिजन कार्डको व्यवस्था गर्ने ।

–महानगरका मुख्यचोक, भित्रि गल्लीलगायत सार्वजनिक ठाउँमा सिसिटीभी जडान ।

–महानगरभित्र भूकम्पबाट भत्किएको संरचनाको पुनर्निर्माण दुई वर्षभित्र सक्ने ।

–महानगरभित्र जेष्ठ नागरिक, अपांग, ५ वर्षभित्रका बालबालिका, पिछडिएका समुदायका नागरिकलाई निःशुल्क यातायात, निःशुल्क स्वास्थ्य परीक्षण ।

–८० वर्षमाथिका वृद्धवृद्धालाई वार्षिक १२००० महानगरभत्ता दिइने । अतिरिक्त सुत्केरी, अपांगभत्ता दिइने ।

–महानगरसरकार २४ घन्टा जागा ।

–काठमाडौं सहर झिलिमिली सहरको रूपमा विकास, उज्यालो काठमाडौं बनाउने । पोलमा तार राख्ने प्रणाली विस्थापित गरि तार जमिनमुनि बिछ्याउने ।

–दमकल सेवालाई अत्याधुनिकीकरण । वडा कार्यालयलाई सेवा केन्द्र बनाउने ।

–महानगरभित्र पशु छाडा छाड्न पाइने छैन । सुकुम्बासी समस्या किनारा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्