Logo
Logo

ओलम्पिक मेडलिष्टलाई दुई करोड पुरस्कार : खेलकुदमन्त्री


126
Shares

काठमाडौं । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन पुरस्कार कार्यविधि बनाउन लागेको बताएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धि कार्यविधि तयार गर्न लागेको बताएका हुन् ।

मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरुलाई २ करोड नगद राशीले सम्मानित गर्ने बताए । ‘मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगदराशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाइरहेका छौँ’, उनले भने, ‘उक्त राशी बढाउन थप प्रयास गर्नेछु ।’

नेपाली खेलाडीहरुले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गर्दै आएपनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको बताए । उनले भने, ‘तपाईहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्धेश्य राख्नुहोस ।’

सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभुती भएको बताउँदै मन्त्री अथकले उक्त दृष्टिकोण बदल्न समेत खेलाडी तथा खेल संघहरु लाग्नुपर्ने बताए ।

मंगलबार ललितपुरको गोदावरी नगपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन ।

जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्