Logo
Logo

मुख्यमन्त्री राईले पुल अलपत्र पार्नेको ठेक्का रद्द गर्ने



काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा निर्माण हुने पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका छन् ।

अरुण नदीमा निर्माण हुन लागेको पक्की पुलको बुधबार अनुगमन गर्दै उनले ११ वर्षअघि निर्माण सुरु भएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरू गरेको पुल विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र भएको छ । विसं २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा छ वटा पिलर आधा मात्रै उठाइएको छ ।

लम्सुवाघाटको अरुण नदीमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म ३० प्रतिशत मात्र काम सकिएको छ । अलपत्र पुलको अनुगमन गर्दै मुख्यमन्त्री राईले डिजाइनअनुसार पुल निर्माण हुनसक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कारबाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने बताए ।

अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्ने वा ठाउँ परिवर्तन गर्ने भन्ने चाँडै निश्कर्ष निकालिने मुख्यमन्त्री राईले बताए । स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लोपटक २०७७ पुस १३ गतेसम्म म्याद थप गरेको थियो । रु. १४ करोड ७५ लाख ११ हजारमा सम्झौता भएको पक्की पुल हालसम्म खर्च रु. तीन करोड ८५ लाख २२ हजार खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ ।
लामोसमय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अनुगमनमा संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्