Logo
Logo

सांस्कृतिक पर्वले राष्ट्रिय एकता बलियोः मुख्यमन्त्री शाही



कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको बताए ।

शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा उनले स्वदेश तथा विदेशमा बस्दै आएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शाहीले शुभकामनामा भनेका छन्, “बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा विद्यमान पर्वमध्ये आज परेको ‘ग्याल्पो ल्होसार’ले नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।”

यस पर्वले नेपालीहरुमा नयाँ उमंगसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उनले कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्