काठमाडौं । प्रहरीले सुनसरीमा एक महिलाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटाको पाख्रिबास नगरपालिका–६, फलाटेका २४ वर्षीय विनेश रानालाई पक्राउ गरेको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, सरङडाँडाकी सुमित्रा तामाङको हत्या गरेको आरोपमा ती युवक पक्राउ परेका हुन् । सुमित्रा इटहरी–५ मा डेरा गरी बस्दै आएकी थिइन् ।
यही फागुन १७ गते बिहान धरान उपमहानगरपालिका–१८, बुद्धचोकस्थित न्यु कान्तिपुर होटेल एन्ड लजको कोठामा तामाङको शव भेटिएको थियो । घटना अनुसन्धानका क्रममा हत्यामा विनेशको संलग्नता देखिएपछि पाख्रिबास–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइलसहित प्रहरीले गएको शनिबार पक्राउ गरेका हो ।

श्रीमान् विदेशमा रहेको बेला विगत एक वर्षदेखि सुमित्रासँग उनको प्रेम सम्बन्ध रहेको खुल्न आएको प्रहरीको भनाई छ । पटक–पटक भेटघाट हुने गरेको, आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटेलमा बसेको पनि अनुसन्धानका क्रममा देखिएको हो ।
प्रहरीका अनुसार फागुन १६ गते बेलुका सुमित्राले अरू पुरुषसित मोबाइलमा कुरा गरेको विषयमा विवाद भएको थियो । त्यसपछि विनेशले कुटपिट गरेको र विवाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्याको गरेको अनुसन्धानबाट खुलेको हो । लगत्तै उनी पाँच हजार रुपैयाँ र मोबाइल समेत लिई होटेलबाट फरार भएका थिए ।
प्रहरीले विनेशविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिएको छ ।














