Logo
Logo

मन्त्रीको नाममा घुस


1.3k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी फेरि अर्को घुस काण्डमा मुछिएका छन् । निगममा तेस्रो र चौथो तहका १४ जना कर्मचारी करारमा भर्ना गर्दा अधिकारीले जनही चारदेखि ६ लाखसम्म घुस बुझेको स्रोतले बताएको छ । निगममा जागिर प्रवेश गरेदेखि नै सेटिङमा सिपालु अधिकारीले भर्ना, सरुवा–बढुवा, खरिद आदि सबैमा घुस लिने गरेको निगम कर्मचारीले दृष्टिलाई बताएको छ ।

निगम स्रोतका अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बुझाउनुपर्ने भन्दै अधिकारीले घुस रकम उठाउने गरेका छन् । कर्मचारी भर्नामा लाखौँ रकम उठाएर करारमा कर्मचारी भर्ना गरेलगत्तै अधिकारी साउदी अरेबिया उडेका थिए । करारमा नियुक्ति भएका कर्मचारीले अहिले विमानस्थलमा तालिम लिइरहेका छन् । अधिकारीको घुस खाने पुरानै बानी हो । अहिले पनि मन्त्रालयमा मिटिङ छ भनेर अधिकारी कमिसनका लागि विभिन्न सप्लायर्सको कार्यालयमा जाने गरेको त्यहाँका कर्मचारीले दृष्टिलाई बताएका छन् ।

उनले पर्यटनमन्त्री आलेलाई पैसा दिनुपर्छ भनेर करोडौँको फाइल रोकेर राखेको स्रोतले दृष्टिलाई बताएको छ । अधिकारीले यसअघि देश बाहिरको स्टेशनमा पोस्टिङमा जाँदा निगमका कर्मचारीलाई १० लाख बुझाउनुपर्ने रेट नै तोकेका थिए । यस विषयमा पनि कर्मचारीहरूले संचालक समितिमा लिखित उजुरी हालेका थिए । राम श्रेष्ठको हार्वेष्ट मुन ट्राभल एजेन्सीसँग मिलेर उनले टिकटमा पनि भ्रष्टाचार गरेका छन् । तारा एयरलाई ट्वीनटर विमान भाडामा दिँदा यतीसँग कमिशन खाएका अधिकारीले निगमको डीडीए मुल्यांकन गर्दा सम्पत्ति कम देखाएर कौडीको भागमा निगम बेच्ने योजना बनाएका थिए ।

शरदचन्द्र शाहको सिफारिसमा तत्कालीन शाही नेपाल वायु सेवा निगममा जागिर प्रवेश गरेका अधिकारीले ३४ वर्ष निगममा जागिर खाएर अवकाश पाएका थिए । तिनै अधिकारीलाई पर्यटनमन्त्री आलेले कार्यकारी अध्यक्ष बनाएपछि आले मात्रै होइन, समाजवादीका सम्मानित नेता झलनाथ खनालको नैतिकतामाथि पनि प्रश्न उठेको छ । पार्टी सचिवालय बैठकमा अधिकारीको नियुक्तिलाई लिएर खनालले आत्मालोचना गरेको स्रोतले बताएको छ ।

आफ्ना गलत कामको ढाकछोप गर्न अधिकारीले दैनिक पत्रिका र टेलिभिजनका रिपोर्टरलाई प्रलोभन दिएका छन् । स्रोतका अनुसार अधिकारीले आफ्नो विरोध नगर्ने रिपोर्टरलाई श्रीमान–श्रीमतीसहित विदेश घुमाइदिन्छु भनेर प्रलोभन दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्