काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा बढ्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोह–अवरोह आउनुलाई स्वाभाविक बताए ।

काठमाडौंमा शनिबार सुरु भएको संघीय परिषद् बैठकमा उनले ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो बताएका हुन् । भट्टराईले भनेका छन्, ‘पार्टी संगठनभित्रको कार्य प्रणाली सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा आधारित हुनेछ । पार्टीका महत्वपूर्ण निर्णयहरू व्यक्तिले हैन, बैठकले गर्नु पर्दछ । पार्टी संगठनको व्यवस्थित अभिलेख प्रणाली हुनुपर्दछ ।’
पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र भट्टराईबीच विवाद आइरहेका बेला संघीय परिषद्को बैठक सुरु भएको हो । भट्टराईले आफ्नो प्रतिवेदनमा भनको छन्, ‘हाम्रो पार्टी लोकतान्त्रिक युगको, स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हो । न यो पूरै कार्यकर्ता आधारित ‘भेनगार्ड’ (अग्रदस्ता) पार्टी हो, न जनआधारित स्वतन्त्र व्यक्तिहरूको लथालिंगे मास पार्टी हो ।’
उनले पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोहअवरोह आउँछन्, त्यो स्वाभाविक बताएका छन् । उनले भनेका छन्, ‘पार्टी संगठनले त्यस्ता समस्या, अप्ठ्यारा र आरोह–अवरोहलाई सामना गर्न र पचाउन सक्नु पर्दछ । पार्टी सरल रेखामा हिँड्ने प्रशासनिक संगठन हैन, यो निक्कै जटिल प्रकृतिको राजनीतिक संगठन हो ।’
उनले विचार र कार्यदिशाको भिन्नताले पार्टीभित्र वैचारिक समूह देखापर्ने राजनीतिक प्रतिवेदनमा लेखेका छन् । ‘कुनै पार्टी सदस्यको विचार कुनै खास एजेन्डामा कसैसँग मिल्न र कसैसँग नमिल्न सक्दछ । यसलाई पनि कुनै ठूलो आपत्तिको विषय बनाइनु हुँदैन’ उनले लेखेका छन्, ‘पार्टीमा वैचारिक अवैचारिक र स्थायी गुटबन्दी हुनु हुँदैन ।’











