
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने बताएका छन् ।
बिराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमससीसी व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुन सक्ने चेतावनी दिएका हुन् ।
‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं’, अध्यक्ष प्रचण्डले भने ।
व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै रहेको भन्दै प्रचण्डले आगामी निर्वाचनपछि बस्ने बैठकमा यसबारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको पनि बताए । त्यो बेला फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘राजीनामा दिन्छौं ढुक्क हुनुहोस् ।’
यस्तै एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति प्रचण्डले कडा टिप्पणी गरेका छन् । एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको भन्दै प्रचण्डे भने, ‘यो भन्दा विचित्र के हुन्छ ? जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’
‘संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’














