
मोरङ । प्रदेश नम्बर १ को पथरी शनिश्चरे नगरपालिका प्लाष्टिक मुक्त क्षेत्र घोषणा भएको करिब ७ वर्ष पुग्यो । तर, नगरमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यान्वयन नभएको पथरी बजारमा सब्जी व्यापार गर्दै आएका पुराना व्यापारी दिलकुमार वजी बताउँछन् ।
नगरपालिकाले २०७१ साल चैत २६ गते नगरको शरणार्थी शिविरमा तामझामका साथ प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको थियो । फोहोरमैला न्यूनीकरण गर्दै स्वच्छ वातावरण कायम राखी जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्न आवश्यक भएको भन्दै नगरपालिकाले प्रथम परिषद् गरी ‘पथरी शनिश्चरे नगरपालिका प्लाष्टिक झोला मुक्त कार्यविधि, २०७१’ जारी गर्यो । नगरपालिका, पथरी शनिश्चरे उद्योग वाणिज्य संघ र पथरी जेसीज, शान्ति सामुदायिक वन र पथरी बजार फोहोरमैला व्यवस्थापन समितिले संयुक्तरुपमा कार्यविधि निर्माण गरेको हो । कार्यविधिमा १५ बुँदा रहेको छ ।
बुँदा नं. ३ मा प्लाष्टिक झोला बिक्री वितरण सम्बन्धमा भनिएको छ, १. यो कार्यविधि लागू भएपछि कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले प्लाष्टिक झोला पथरी शनिश्चरे नगर क्षेत्रमा बिक्री वितरण गर्न पाउने छैन । २. यो कार्यविधि प्रारम्भ हुँदाको बखत प्रचलित कानून बमोजिम बिक्री वितरण गरी मौज्दात रहेको प्लाष्टिक झोला वि.सं.२०७१ साल चैत महिनाको २० गते अगावै खपत वा उचित व्यवस्थापनगरी सोको जानकारी नगर अनुगमन समिति र पथरी शनिश्चरे उद्योग वाणिज्य संघलाई दिनुपर्नेछ । ३. उपबुँदा २ को अवधिभित्र खपत वा उचित व्यवस्थापन नगरी मौज्दात हुन गएको प्लाष्टिक झोला नगर अनुगमन समितिले उचित तरिकाबाट बिसर्जन गर्नेछ ।
कार्यविधिले प्लाष्टिकको झोला बिक्री वा प्रयोग गरेमा कसुर मानेको कार्यविधिले ‘दण्ड सजाय’को व्यवस्था गरेको छ । नगरपालिकाको वातावरण शाखाका प्रमुख सुरेन्द्रकुमार राई भने, ‘प्लाष्टिकको झोला बिक्रेतालाई प्रथम पटकको लागि ३ सय, दोस्रोपटकदेखि हरेकपटक ५ सयको दरले जरिवाना र प्लाष्टिक झोला प्रयोगकर्तालाई पटकै पिच्छे १ सय जरिवाना तोकिएको छ ।’ राईका अनुसार कार्यविधिले दण्डसजाय तोकिए पनि हालसम्ममा नगरपालिकाले कसैलाई पनि जरिवाना लिएको छैन ।
नगरक्षेत्रको सबैभन्दा ठूलो बजार पथरी बजार हो । पथरी बजार आइतवार र बिहीवार लाग्ने गर्छ । नगरको एक मात्र पशुहाट कुशल चोकमा शनिवार बजार लाग्छ ।
सुन्दरी चोक, किरात चोक, हसन्दह, सुगा, आइतबारे, सोमबारे, मंगलबारे, शुक्रबारे, भातेगौडा, शिरिसे डाँडा, शनिश्चरे, कीर्तिपुरमा हटिया लाग्ने गर्छ । रामनवमीको दिन भोटेघुम्ती, यले संवतको दिन यले मेला, मंसिरे पूर्णिमामा चासोक मेला, बैशाखे पूर्णिमाको दिन साकेला मेला, जात्रि/सिर्जातको दिन जात्रि मेला धुमधाम लाग्छ । बजार, मेला मात्र होइन, किनमेल हुने सबै स्थानहरुमा प्लाष्टिक बिक्रेता र खरिदकर्ता प्रशस्त देखिन्छ । सार्वजनिक स्थानहरुमा प्लाष्टिकजन्य फोहोरहरु भटिन्छ । नगरपालिकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणाका लागि केही पनि नगरेको पथरी कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।
बुँदा नं. ३ मा प्लाष्टिक झोला बिक्री वितरण सम्बन्धमा भनिएको छ, १.यो कार्यविधि लागू भएपछि कुनैपनि फर्म, कम्पनी वा व्यक्तिले प्लाष्टिक झोला पथरी शनिश्चरेमा नगर क्षेत्रमा बिक्री वितरण गर्न पाउने छैन । २. यो कार्यविधि प्रारम्भ हुँदाको बखत प्रचलित कानून बमोजिम बिक्री वितरण गरी मौज्दात रहेको प्लाष्टिक झोला वि.सं.२०७१ साल चैत महिनाको २० गते अगावै खपत वा उचित व्यवस्थापनगरी सोको जानकारी नगर अनुगमन समिति र पथरी शनिश्चरे उद्योग वाणिज्य संघलाई दिनुपर्नेछ । ३. उपबुँदा २ को अवधिभित्र खपत वा उचित व्यवस्थापन नगरी मौज्दात हुन गएको प्लाष्टिक झोला नगर अनुगमन समितिले उचित तरिकाबाट बिसर्जन गर्नेछ ।
‘नगरले केही हेरेको छैन, ठेक्का लगाएर पैसा लानेदेखि बाहेक केही गरेको छैन ।’ उनले भने, ‘नगरपालिकाले गर्दा कार्यान्वयन भएन । नगरपालिका र समितिले माइकिङ गरेको थियो । व्यापारीले केहीसमय छोडे पनि प्लाष्टिक बेच्न छोडेन । नगरपालिकाले कन्ट्रोल गर्नै सकेन ।’ प्लाष्टिक मुक्त क्षेत्र बनाउनका लागि नगर प्रहरी घुमाउनुपर्ने उनको भनाइ छ ।
तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको प्रारम्भिक जनगणना अनुसार पथरी शनिश्चरेमा ७२ हजार ६ सय ८९ जनसंख्या रहेको छ । मोरङको उत्तर पूर्वी क्षेत्रमा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ, पथरी शनिश्चरे नगरपालिका । सुरुमा साविक पथरी गाविस र शनिश्चरे गाविसलाई मिलाएर २०७१ सालमा नगरपालिका बनाइएको थियो ।
स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई गाभेर २०७३ फागुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका स्थापना भएको हो । पालिकाबासीको मुख्य पेशा कृषि हो । पूर्वमा सुनझोडा खोला र बक्राहा खोला, दक्षिणमा डाँस खोला, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणीमा सुनवर्षी नगरपालिका छ । प्लाष्टिक बोक्न नदिने भनेर मात्र नहुने बताउँदै शान्ति सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष हेम तमूले प्लाष्टिक बनाउने उद्योग नै बन्द गर्नुपर्ने र नगर क्षेत्रमा प्लाष्टिक आयातलाई रोक्न सके मात्र प्लाष्टिक मुक्त हुने बताउँछन् । नगरपालिकाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन, २०७६’ बनाएको छ । दफा ६६ वटा रहेको ऐनको १४ मा ‘प्रदुषण रोकथाम तथा नियन्त्रण गर्ने’, दफा १९ मा ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवस्था’ मात्र होइन दफा ५२ मा ‘सजाय तथा जरिवाना’ समेतको व्यवस्था गरेको छ ।

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न प्राकृतिक स्रोतको समुचित उपयोग एवँ दिगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत वातावरण र जैविक विविधताको संरक्षण गर्न बाञ्छनीय भएकाले नगरपालिकाले २०७६ साल फागुन २६ गते ऐन स्वीकृति गरेको थियो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले प्लाष्टिकको विकल्प दिन नसकिएकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यान्वयन हुन नसकेको बताए । नगरपालिकाले अहिले ‘लघु उद्यम कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
पालिकाको सबै वडामा कार्यक्रम हुने भएपनि अहिले वडा नम्बर १, २, ३, ४, ८ र ९ तालिम सम्पन्न भइसकेको छ । तीमध्ये वडा नम्बर १ मा पेपर ब्याग र वडा नम्बर ९ मा कपडाको झोला बनाउने तालिम भएको थियो । ‘लघु उद्यम कार्यक्रममा १ सय ५० जना उद्यमी बनाउने क्रममा प्लाष्टिकको विकल्प सड्ने प्रकृतिको झोला बनाउने उद्यमी तयार गर्छौं । उद्यमीलाई नगरपालिकाले आवश्यक सहयोग गर्छ ।’ नगर प्रमुख भन्छन्, ‘झोला उत्पादन भएपछि प्लाष्टिक आयातलाई पूर्णरुपमा रोगलगायतको विस्तृत योजना बनाई प्लाष्टिक मुक्त क्षेत्रलाई कार्यान्वयन गर्छौं ।’











