काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उनले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिइन् ।
मन्त्री श्रेष्ठले भनिन्, ‘भाषण गर्दैमा, निर्णयका ठेली लेख्दैमा जनताका समस्या समाधान हुन्नन्, विगतमा जनप्रतिनिधिबाट आवश्यक पहल भएको देखिएन, त्यसैले पागाबासीले पूर्जा प्राप्त गर्न गणतन्त्र आउन प¥यो । लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था छ, अब त्यो छिट्टै अन्त्य गरिनेछ ।’
जनताले बनाएको मन्दिरमा गजुर लगाउन मात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उनले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गरिन् ।











